ज्यान जाला ! नखानुस अंकुर तेल

यो समाचार 167 पटक पढिएको

विवेक विश्वकर्मा 

भैरहवा, २९ पुस । रुपन्देहीको कोटिहवामा उत्पादन हुने अंकुर तेल खान योग्य नरहेको प्रमाणित भइसक्दा पनि बजारमा छ्यापछ्याप्पी छ । न त अहिलेसम्म यसको उत्पादन नै रोकिएको छ । बरु, स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा उत्पादनकर्तालाई संरक्षण दिइएको छ ।

ankur oil

रुपन्देही सेमलार–९ का उपभोक्ता होमराज रिजालले खाना पकाउँदा अंकुर तेलमा लेदो जम्यो । अति नै दुर्गन्ध पनि आयो । गुणस्तरहीन तेल भन्ने शंका लागेपछि उनी उजुरी लिएर गत असोज अन्तिम साता जिल्ला प्रशासन कार्यालय पुगे । उपभोक्ता रिजालको उजुरीकै आधारमा जिल्ला बजार अनुगमन समितिले कार्तिक ५ गते अंकुर तेल उत्पादन गर्ने गोविन्द आयल इन्डष्ट्रिजमा छापा मार्‍यो । सोही क्रममा खाद्य जाँचका लागि केही पोका तेल नियन्त्रणमा लिइयो । र, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइयो । तर, क्षेत्रीय कार्यालय समेत तेल उद्योगसँग बिक्यो । र, उसले कात्तिक १० गते रिपोर्ट निकालिदियो – ‘अंकुर तेल खानु हुन्छ ।’

तर, जिल्ला बजार अनुगमन समितिले क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रिपोर्ट पत्याएन । क्षेत्रीय कार्यालयको नियतमै शंका लागेपछि कात्तिक १५ गते तेल पुन जाँचका लागि केन्द्रीय विभागमा पठाइयो । नभन्दै केन्द्रीय खाद्य प्रविधि तथा नियन्त्रण विभागले आफ्नै क्षेत्रीय कार्यालयको रिपोर्ट समेत झुट सावित गरिदियो । र, भन्यो– अंकुर देखि खान योग्य छैन ।

केन्दीय विभागले अंकुर ब्राण्डको तोरीको तेलका पोकाको नमुना प्यारामिटर चेकजाँच गर्दा रिफ्रयाक्टिभ इन्डेक्स १ दशमलव ४६५ देखि १.४६९ हुनुपर्नेमा १ दशमलव ४६३५ रहेको भेटायो । परोक्साइड भ्यालु १० हुनुपर्नेमा १ दशमलव ७९ भएको र एसिड भ्यालु ० दशमलव ५० हुनुपर्नेमा १ दशमलव २५ रहेको देखायो । अत्याधिक मिसावत भएकाले तेल खानै नहुने भन्दै विभागले कात्तिक २६ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्र पठाएको थियो ।

तर, अखाद्य प्रमाणित भइसक्दा पनि बजारमा छयापछयाप्ती विक्री वितरण हुनुले स्थानीय प्रशासनको नियममाथि नै प्रश्न उब्जिएको छ । अझ जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई र प्रहरी कार्यालयले प्रशासनतिर औंला तेर्साउँदै आएका छन् । एकले अर्कालाई दोषारोपण गर्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्नु नै शंकास्पद भएको भैरहवाका उपभोक्ताहरु बताउँछन् । दुबै कार्यालयको जुवारीले यतिबेला कालोबजारी गरेर रातारात आफू धनी बन्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अकुंर तेल उत्पादकको मनोबल बढेको छ । रुपन्देहीको पडसरी–८ स्थित गोविन्द आयल इन्डस्ट्रिजले अहिले पनि अंकुर ब्रान्डको तेल धमाधम उत्पादन गरिरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले रुपन्देही प्रहरीलाई निशाना ताक्दै मंसिर १८ गते अकुंर तेलमाथि कारबाही गर्न पत्र काटेका थिए । आवश्यक छानबिन गरी कालोबजारी अन्तर्गत तेल उत्पादकलाई कारबाही अगाडि बढाउन निर्देशनात्मक पत्र पठाएपनि प्रहरीले टेरेन । अकुंर तेलमाथि कारबाहीको जानकारी अहिलेसम्म आफूले नपाएको प्रमुख जिल्ला अधिकारी पन्थी बताउँछन् । कारबाही गर्ने जिम्मा प्रहरीको भएकोले प्रहरीलाई नै छानबिन गर्ने निर्देशन दिएको उनले बताए । घटनाको छानविन गरि मुद्दा चलाउन निर्देशन दिइएको एक महिना भन्दा बढी बितिसक्दा पनि रुपन्देही प्रहरी चुप लागेकोमा आफू पनि आश्चर्यमा परेको भन्दै प्रजिअ पन्थीले निरीहता पोखे ।

तर, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, डिएसपी दीपक न्यौपानेले भने अनुसन्धान जारी नै दाबी गर्छन । अनुसन्धान गर्न ९० दिनको म्याद रहेको भन्दै उनले उद्योग संचालक सौरव अग्रवाललाई पक्राउ गर्न वडा प्रहरी कार्यालयलाई पुस १६ गते नै निर्देशनात्मक पत्र पठाइसकेको बताए । कालोबजारी गर्नेलाई कालोबजारी ऐन २०३२ अन्र्तगत कारवाही गर्ने कानुनी प्रावधान छ ।

यस सम्बन्धमा सञ्चालक सौरभ अग्रवाल र उद्योगको हर्ताकर्ता सञ्चालकको बाबु ब्रिजेश अग्रवाललाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :