भक्तपुरमा इँटाभट्टाले खेती सखाप

यो समाचार 96 पटक पढिएको

भक्तपुर, भक्तपुरका न्हुछेराम सिबन्जारले खेती गर्न छाडेको २० वर्ष भयो। उनले पाँच रोपनी जग्गा इँटाभट्टा सञ्चालकलाई भाडामा दिएका छन्। भट्टावरिपरि धानबाहेक अन्य बाली उब्जँदैन। उब्जनी नभएपछि उनले बाध्य भएर कम रकममै भट्टालाई माटो निकाल्न दिने गरेका छन्।
मंसिरदेखि जेठसम्म इँटा बनाउने मौसम हो। यस अवधिमा भट्टाको चिम्नी भएको क्षेत्रमा किसानले खेती गर्न पाउँदैनन्। खेती गरे पनि चिम्नीको धुवाँले उब्जनी हुँदैन। ‘खेती गरे पनि चिम्नीको धुवाँले राम्ररी उम्रँदै उम्रिन्न, उम्रिए पनि डढेलो रोग लाग्छ’, स्थानीय प्रकाश बाहालाले भने, ‘खेती गर्नुभन्दा जग्गा दिनु बेस।’
bhakt
घरको बगैंचामा लगाएको तरकारी पनि भट्टाको धुवाँले मर्ने गरेको उनले बताए। भट्टा नहुँदासम्म गहुँ, आलु, प्याज, काउली, बन्दालगायत उब्जनी गरी बिक्री गर्ने किसान अहिले बजारबाट किनेर खान्छन्। ‘तरकारीको पातमा खरानीको पोकाजस्तो जम्मा हुन्छ’, उनले भने। वर्षातमा भट्टा सञ्चालन नहुने भएकाले धान खेती गरिन्छ। तर मलिलो माटो इँटा बनाउन प्रयोग हुने भएकोले उब्जाउ कमी हुने गरेको किसानको गुनासो छ।

मलिलो माटोले इँटा बनाएपछि उब्जाउ स्वत: घट्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख वेदप्रसाद चौलागाईंले बताए। मलिलो माटो निकालेपछि फर्सी, काँक्रो, खुर्सानी फल्न छाडेको छ। खेती गरे पनि भट्टाका कामदारले बारीमा कुल्चिएर बीउ उम्रनसमेत पाउँदैन। यसअघि धान बेच्ने यहाँका किसान अहिले बजारको चामल किनेर खान थालेका छन्।

‘विगतमा बाली लगाउँदा ५० हजार आम्दानी हुने बारीमा अहिले पाँच हजारमात्र हुन थालेपछि बाध्य भएर माटो निकाल्न भाडामा दिने गरेका छौं’, बाहालाले भने। भट्टाका लागि माटो निकालेको जग्गामा सिंचाइ गर्न समस्या हुने अर्का किसान इन्दबहादुर कवांले बताए। जमिनको सतह पनि घट्दै गएको छ। भट्टा सञ्चालन भएको क्षेत्रका स्थानीय बासीको स्वास्थ्यमा पनि असर परेको छ। उनी भन्छन्, ‘भट्टा सञ्चालन भएपछि खोकी लाग्ने, ज्वरो आउने समस्याले सताउँछ।’

लुगा धोएर सुकाउँदा कालो दाग बस्ने गरेको स्थानीय कृण्णश्वरी लागेले बताइन्। भट्टा भएको क्षेत्रका बालबालिका विद्यालय जाँदा दाग बसेको पोसाक लगाएर जान बाध्य छन्। भट्टाको धुवाँमात्र होइन, सवारी चलाउँदा उड्ने धुवाँ स्थानीयलाई अर्काे समस्या बनेको छ। ‘हाम्रो समस्या कसलाई भन्न जानु, कसले सुन्छ र?’ ५० वर्षीय कवांले भने।

सिपाडोलका तुल्सिभक्त लागेले भने तीन वर्षअघिदेखि भट्टालाई आफ्नो जग्गा दिन छाडेका छन्। उनले भने, ‘भट्टाले मलिलो माटो इँटा बनाउन निकालेपछि बाँकी रहेको रुखो माटोमा उत्पादन घटेकाले जग्गा दिन छाडें।’ विगतमा १० मुरी धान उत्पादन हुने जग्गामा अहिले सात मुरी पनि उत्पादन हुन छाडेको उनको भनाइ छ। उनको घर भट्टानजिकै छ। घरवरिपरि हरियो सागसब्जी लगाउन छाडेर बजारको किनेर खानुपर्ने अवस्था छ।

भट्टामा इँटा पोल्न सुरु गरेपछि भक्तपुरको ग्रामीण क्षेत्रबाट अस्पताल आउने बिरामी बढ्छन्। भट्टामै कार्यरत केही कामदालाई धुवाँ र धुलोले क्षयरोगसमेत लाग्ने गरेको चिकित्सकले बताएका छन्। भक्तपुरका नंखेल, ताथली, सुडाल, झौखेललगायतका गाविसमा करिब ६४ वटा भट्टा सञ्चालनमा छन्। प्रदूषण कम हुने प्रविधिको विकास भए पनि भक्तपुरमा सञ्चालित भट्टामा लागू हुन सकेको छैन।

जिल्ला कृषि कार्यालयले भट्टाका कारणले अन्नबालीमा पारेको असरको अझै अध्ययन गरेको छैन। ‘भट्टाले गर्दा परेको असर अध्ययन गर्न सकेको छैन’, चौलागाईंले भने, ‘जिल्लामा बर्सेनि उब्जनी घटिरहेको छ, यसको एउटा कारण भट्टाबाट निस्कने धुवाँ पनि हो।’ यसले हिउँदे बालीलाई बढी असर गरेको उनले बताए। कृषिविद् कृष्णप्रसाद पौडेलले अव्यवस्थित रूपमा सञ्चालित भट्टाले कृषि क्षेत्रमा प्रत्यक्ष असर पारेको जानकारी दिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :