प्रहरीको गोलीबाट सप्तरीमा चारको मृत्यु , मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

यो समाचार 390 पटक पढिएको

राजबिराज  : एमालेको मेची महाकाली अभियान कार्यक्रम

काठमाडौं । सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सप्तरी मलेठ-२ का सञ्‍जन मेहता र दिगम्बर यादव तथा सप्तरी मलेठ-४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा धरानमा मृत्यु भएको हो। त्यस्तै प्रहरीको गोली लागेर मेहता र दिगम्बर यादवको घटनास्थलमै मृत्यु भएको थियो। अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न नछोडेपछि प्रहरीले गोली चलाएको थियो।

तीन दिनका लागि मेची महाकाली स्थगित
सप्तरीमा बसेको एमाले स्थायी समितिको बैठकले मेची महाकाली अभियान तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। सोमबार राजविराजमा प्रहरीको गोली लागी मधेसी मोर्चाका कार्यकर्ता सञ्जन मेहताको निधन भएपछि सप्तरीको रुपनगरमा बसेको एमालेको आकस्मिक बैठकले मेची महाकाली अभियान तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेको हो।

प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष आग्रह गरेपछि तीन दिनका लागि अभियान स्थगित गरिएको हो। मोर्चाका कारण राजविराजमा अकल्पनीय क्षति भएको भन्दै एमालेले यसमा गहिरो दुःखसमेत व्यक्त गरेको छ।

मधेसीमोर्चाले सरकारबाट समर्थन फिर्ता लियो

मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ। सप्तरीमा भएको गोली काण्डपछि काठमाडौंमा बसेको मधेसी मोर्चाको अकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर समर्थन फिर्ताको औपचारिक जानकारी दिने मोर्चाको तयारी छ।

तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको मोर्चाको बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी एमाले लिनुपर्ने माग गरेको छ। यसैगरी मोर्चाले भोलि र पर्सी तराई-मधेश बन्दको घोषणा समेत गरेको राष्ट्रिय समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।