कुलेखानीमा वार्षिक दुईलाख किलो माछा उत्पादनको सम्भावना

यो समाचार 214 पटक पढिएको

कम उत्पादन हुँदा कुलेखानीमै खपत

कुलेखानी । देशकै ठुलो मानव निर्मित पोखरी अर्थात कुलेखानी रिजर्भवायरमा विगत २५ वर्षदेखि माछापालन हुदै आएको छ । वार्षिक ५२ हजार किलो माछा कुलेखानीबाट उत्पादन हुन्छ तर, स्थानिय कृषक कुलेखानीको क्षमताको भरपुर उपभोग नभएको बताउँछन् ।कुलेखानीमा वार्षिक दुईलाख किलो माछा उत्पादन गर्न सकिने उनीहरुको ठहर छ । ‘सरकारी सहयोग र प्रोत्साहन नभएकोले माछापालन फस्टाउन सकेको छैन्,’ स्थानीय अगुवा कुलबहादुर केबी भन्छन्, ‘रिजर्भवायरबाट विस्थापित सबै गरिव छन्, सरकारको सहयोग नहुदाँ लगानी बढाउन सकेका छैनन् ।’

कुलेखानी जलविद्युत आयोजना निर्माणको क्रममा चार दशक अगाडि विस्थापित भएका पाँचसयभन्दा धरै घरधुरीमध्ये करिव तीनसय अझ पनि तालकै वरीपरी बस्दै आएका छन् । तिनै किसान मिलेर इन्द्र सरोवर मत्स्य व्यवसायी संघ गठन गरेर माछा पाल्दै आएका छन् । २०४५ सालमा केजमा पाल्न थालिएको माछा २०६१ पछि माथिल्लो क्षेत्रमा खुलारुपमा पाल्न थालिएको छ ।
‘खुलारुपमा माछा पाल्न थालिएपछि उत्पादन त बढेको छ, तर माछाको घनत्व पुगेको छैन । २० हजार वर्ग मिटर क्षेत्रमा प्रयाप्त भुरा समेत हाल्न सकिएको छैन्,’ संघका अध्यक्ष जमान सिंह वाइवाले भने । ‘भुरा कम छाडिएकोले गत वर्ष केवल ५२ हजार किलो मात्र उत्पादन गर्न सफल भएको उनले बताए ।
गत वर्ष सिल्भर कार्प, ग्रास कार्प, बिग हेड गरी करिव एक लाख माछाका भुरा कुलेखानीमा हालिएका थिए । यस्तै कुलेखानीमा मिल्न आउने कुलेखानी, बिसंखेल, चित्लाङ, सेती खोला, चखेल, ठाडो खोला र धार्कु खोलामा असला माछा पनि पाइन्छ । कुलेखानी सरोबर पस्ने बेलामा यी नदिको वहाव नहुने हुदाँ असला माछा लोप हुदै गइरहेका छन् ।
उनका अनुसार, संघमा आवद्ध तीनसय सात परिवारको रोजीरोटीको अन्य व्यवस्था नभएकोले माछाबाट हुने आम्दानी नै जीवनयापनको स्रोत बनेको छ । गत वर्ष संघले ९२ लाख नाफा आर्जन गरेको थियो । प्रत्येक परिवारले करिव ३० हजार आम्दानी गरेका थिए । ‘त्यो पैसा घर खर्च र शिक्षा, स्वास्थ्यमा खर्च भयो । थप लगानी गर्न सक्ने स्थितीमा सदस्य छैनन् । सरकारबाट भुरा र माछा मार्ने जाली, डुंगा जस्ता साधनमा सहयोग भए आम्दानी बढने र किसानको जिवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ,’ मार्खु गाविसका सचिव विश्वराज लामाले भने ।
शिक्षित र सम्पन्न मानिस मार्खुमा नबस्ने भएकोले यहाँको विकास प्रभावित भएको उनले बताए । ‘बोल्दा समेत कुरा नपुर्याउनेको निराक्षर तामाङहरुको बाहुल्यता मार्खुमा छ । यिनको पक्षमा बोली दिने समेत कोही छैन,’ उनले भने, ‘अब यिनीहरुलाई व्यवसायिक शीप र वित्तिय सहयोग गर्नेको खाँचो छ ।’
कुलेखानीको चीसो पानीमा प्रकृतिकरुपमा हुर्किएका माछाको स्वाद राम्रो भएकोले त्यसले काठमाडौंमा राम्रो बजार पाउन सक्ने फिस हाउसका प्रवन्धक दिपेन्द्र भण्डारी बताउछन् । ‘यही सोचमा हामीले थापाथलीस्थित ट्रेड टावरमा फिस हाउस सुरु गर्यौ, तर आशा अनुसारको बिक्री भएन,’ मुलुकमै पहिलोपटक ब्लास्ट प्रविधीबाट माछा प्रशोधन गरी बिक्री गर्दै आएका भण्डारीले भने ।
माछामा प्राकृतिकरुपमै साल्मोनेला, इकोला र ट्राइल मिथानेल जस्ता जीवाणु पाइने र यीनले मरेका माछाको गुणस्तर नस्ट गर्ने गर्दछन् । ‘यिनै जीवाणु नस्ट गर्न र माछामा हुने ओमेगा ३ फ्याटी एसिडको संरक्षण गर्न ब्लास्ट प्रविधी हामीले ल्याएका हौ,’ उनले भने ।
मानिसलाई स्वस्थ्य माछा खानु पर्छ भन्ने चेतना भएपनि गुणस्तरप्रति उनीहरु सचेत नभएको गुनासो उनले गरे, ‘फर्मालिन प्रयोग भएको कुहिन लागेको माछा काठमाडौंमा बिक्री भइरहेको छ । सस्तोमा पाइने भएकोले त्यसको बजार बढेको छ ।’
कृषि विकास मन्त्रालयका अनुसार, नेपालमा प्रत्येक वर्ष करिव ५६ हजार मेट्रिक टन माछा खपत हुन्छ, त्यस मध्ये ९० प्रतिशत भारत र केही सामुद्रिक माछा विदेशबाट पनि आयात हुन्छ । नेपालको उत्पादनले बजारको माग एकमहिना पनि धान्न सक्दैन । यसको मुख्य कारण लगानीको कमी हो । गत वर्ष राज्यले माछा उत्पादनमा केवल १८ करोड लगानी गरेको थियो । नेपालमा खपत हुने ५६ हजार मेट्रिक टन माछाको बजार मूल्य करिव २५ अर्ब रुपैया पर्दछ ।

व्यवसायिकरणको लागि असहयोग
इन्द्र सरोवर मत्स्य व्यवसायी संघमा आवद्ध किसान अति गरिव भएकोले व्यवसायिक मत्स्यपालनका लागि सरकारले सहयोग गर्नु पर्ने माग उनीहरुको छ । वार्षिक दुईलाख किलो माछा उत्पादन गर्ने लक्ष्य हाम्रो छ । यसमा सरकारले पहिलो चरणमा सहयोग गरे २-५ वर्षमा स्वयं लगानी गर्न सक्ने अवस्थामा पुग्न सकिने व्यवसायिक योजना संघसँग छ । उत्पादन बढेपछि नाफा पनि बढ्छ । बढी नाफाबाट पुनः लगानीका लागि रकम छुट्टाउन सकिन्छ । अहिलेको अवस्थामा त्यो सम्भव भएको संघकी व्यवस्थापक मनु लामाले बताइन ।
स्थानिय बजारमै खपत 
कुलेखानीमा माछाको उत्पादन बढाउन सके मात्र त्यहाँका माछा काठमाडौंको बजारसम्म पुग्न सक्छन् । अहिलेको उत्पादन स्थानीय बजारमै खपत हुन्छ । यहाँ जाडो याममा दैनिक ७०/८० किलो र गर्मीमा दुई\तीन सय किलो उत्पादन हुने गरेको छ । ‘दैनिक एकहजार किलो उत्पादन भए मात्र काठमाडौं पर्याउन सकिन्छ,’ इन्द्र सरोवर मत्स्य व्यवसायी संघका जमान सिंह वाइवाले भने । काठमाडौंबाट कुलेखानी केवल २५ किलोमिटरको दुरीमा रहेको छ । करिव एकदर्जन सडकले काठमाडौं उपत्यका र कुलेखानीलाई जोडछन् ।
बिजमाण्डू

रचनात्मक प्रतिक्रिया दिनुहोस् :