विश्वका उत्कृष्ट होटलको सूचीमा मेघौली सराइ

This post has already been read 565 times!

पर्यटन तथा हस्पिट्यालिटी

काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा सूचीकृत गरेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’ मा मेघौली सराइलाई समावेश गरेको हो । चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ ।


विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको हो । ‘यो वर्षको प्रतिस्पर्धा विगतको भन्दा वास्तवमै उच्चस्तरको रहेको थियो ।’ पत्रिकाले भनेको छ — ‘यी ४४ होटलहरुले विभिन्न क्षेत्रमा विशिष्टता प्रदर्शन गरेका छन् । कसैको डिजाइन उत्कृष्ट छ भने कसैले खानाको उत्कृष्टतामा बाजी मारेका छन् । कुनै चाँहि अति विशिष्ट स्थानमा रहेका छन् । यी सबैले विश्वभरका होटल उद्योगका लागि उत्कृष्टताको सन्देश दिएका छन् ।’

‘हाम्रो लागि यो महत्वपूर्ण सम्मान हो, जसका लागि हामी कृतज्ञ छौं । यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको छ ।’ चौधरी समूहका कार्यकारी निर्देशक तथा सिजी होटल्स एण्ड रिसोटर््सका प्रबन्ध निर्देशक राहुल चौधरीले भन्नुभयो, ‘सिजी होटल्स एण्ड रिसोटर््सका विशिष्ट होटलहरु माल्दिभ्स, श्रीलंका, दुवई, फिलिपिन्स, चीन, इन्डोनेशिया, न्यूयोर्कलगायतका स्थानहरुमा रहेका छन् । ताजसँगको साझेदारी हाम्रा लागि विशेष महत्वको छ र मेघौली सराइसहित नेपाल तथा भारतमा हाम्रा पाँच ताज सफारी लजहरु रहेका छन् ।’

‘मेघौली सराइ ट्राभल एण्ड लिजरको यो सूचीमा पर्नाले विश्वभरका धेरै गुणस्तरीय पर्यटक नेपाल आउने विश्वास हामीले लिएका छौं,’ चौधरीले भन्नुभयो । मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन् । दुर्लभ एकसिँगे गैंडा, बंगाल टाइगर र घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज परिचित छ । यहाँ ६८ प्रजातिका स्तनधारी जन्तु, ५४४ प्रजातिका चरा, १२६ प्रजातिका माछा लगायतको जैविक विविधता रहेको छ । त्यस्तै यहाँ बीसहजारी तालको रामसार क्षेत्र पनि रहेको छ ।

‘यो ताज सफारी लज विशिष्ट स्थानमा रहेको छ । यहाँबाट गैंडा अवलोकन सजिलै गर्न सकिन्छ । हात्ती सफारी, निजी स्विमिङ्ग पुल (प्लन्ज पुल), अल्फ्रेस्को मसाज, थारु भोजन जस्ता विशेषता यसका पहिचान हुन्,’ पत्रिकाले भनेको छ । सिजी होटल्स एण्ड रिसोर्ट्स चौधरी ग्रुप (सिजी कर्प ग्लोबल) को हस्पिट्यालिटी कम्पनी हो । झण्डै १४० वर्षको इतिहास रहेको र चौथो पुस्ताको नेतृत्वमा रहेको सिजी कर्प ग्लोबलको उपस्थिति करीव ३० देशमा रहेको । यो बहुराष्ट्रिय औद्योगिक एवं व्यापारिक समूह अन्तर्गत करीब १०,००० कर्मचारी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आवद्ध छन् । यो नेपालको पहिलो अर्व–डलर समूह हो ।

सिजी होटल्स एण्ड रिसोर्ट्सअन्तर्गत २० देशका ६५ ठाउँमा १०० भन्दा बढी होटलहरु सञ्चालनमा छन् जसमा ६००० भन्दा बढी कोठाहरु रहेका छन् । सन् २०२० सम्म यस समूहले होटलको संख्या २०० र कोठाहरुको संख्या १०,००० पु¥याउने लक्ष्य राखेको छ । आप्mनै स्वामित्वका जिंक, समिट र फर्न ब्राण्डबाहेक संयुक्त लगानी तथा साझेदारीका ताज, अलिला, जेटविङ्ग, फार्मजस्ता ब्राण्डहरु पनि यो समूहसँग रहेका छन् । यो क्षेत्रको विशिष्ट र विविधीकृत होटल चेनको रुपमा आफूलाई स्थापित गरेको सिजी होटल्स एण्ड रिसोर्ट्सले मेघौली सराइसँगै विश्वस्तरीय सेवा प्रदान गर्ने आफ्नो यात्रालाई जारी राखेको छ ।