कुलेखानीमा सामूहिक माछापालन

यो समाचार 56 पटक पढिएको

मार्खु (कुलेखानी), २८ पुस \ व्यक्तिगत रूपमा माछापालन असफल भएपछि मकवानपुरका कुलेखानी र मार्खु गाविसका ३ सय ७ घरधुरी आयआर्जनका लागि सामूहिक माछापालनमा संलग्न हुन थालेका छन् । कुलेखानी विद्युत् आयोजनाको क्रममा करिब ४ दशकअघि विस्थापितहरूले ०४५ देखि जलासयमा माछापालन गरे पनि अपेक्षित सफलता हासिल गर्न नसकेपछि सामूहिक बाटो अपनाएका हुन् ।

 

०३४ देखि सुरु भएको कुलेखानी विद्युत् आयोजनाको क्रममा नदीवरपरका ५ सय ८ परिवारलाई निश्चित मुआब्जा तिरेर सरकारले जमिन अधिग्रहण गरेको थियो । “विद्युत् प्राधिकरणले जग्गा अधिग्रहण गरेर ड्याम बनाउन सुरु गरेपछि जिवीकोपार्जनका लागि एउटै विकल्प भनेको माछा नै हो,” स्थानीय शिवसिंह ठकुरी भन्छन्, “सुरुमा केज ९निश्चित जलासयको क्षेत्र बाँडेर गरिने माछापालन०बाट सबैले आफ्नै तरिकाले माछा पाल्यौं । तर, यसरी माछाको उत्पादन बढ्नुको सट्टा घट्यो ।”

केजमा व्यक्तिगत रूपमा माछा पाल्दा घाटा हुन थालेपछि पूरै जलासयमा सामूहिक तरिकाले प्राकृतिक रूपमा माछा पाल्न सुरु गरेको उनले बताए । घरखेत गुमाएका केही कुलेखानीवासी इन्द्रसरोवरमाथि पहाडमा बसोबास गरिरहेका छन् । केही हेटौंडा, केही काठमाडौं र केही विदेशतिर लागेको स्थानीय बताउँछन् । यस क्षेत्रका वासिन्दाको मुख्य आयस्रोत माछा उत्पादन मात्र भएको छ । आयआर्जनको एकमात्र विकल्प माछापालन भएपछि ३ सय ७ घरधुरी रहेको इन्द्रसरोवर मत्स्य व्यवसायी संघ स्थापना गरी सामूहिक माछापालनमा लागेको स्थानीयले बताए ।
जग्गा अतिक्रमणमा परेकाले स्थानीयलाई जलासयमा माछापालन गर्न प्राधिकरणले छुट दिएको छ । यो सुविधाको उपयोग गर्दै संघको स्थापना गरी माछापालन सुरु भएको हो । संघमा आवद्ध हुन कृषकले प्रतिपरिवार ५ हजार रुपैयाँ तिरेका छन् । संघले दैनिक माछा मार्न कर्मचारीको व्यवस्था गरेको छ भने माछाका भुरासमेत संघले नै जलासयमा छोड्छ । संघले मार्खुमा माछा बिक्रीकेन्द्र राखेको छ । यहाँ उत्पादित माछा थानीय रूपमै खपत भइरहेकाले बजारको समस्या भने नरहेको संघका अध्यक्ष जमानसिंह वाइबाले बताए ।
“कर्मचारीको तलब र अन्य व्यवस्थापन खर्च कटाएर बचेको रकम कृषकलाई सामूहिक रूपमा बाँड्ने गरेका छौं,” उनले भने, “यो वर्ष प्रतिपरिवार २० हजार रुपैयाँ वितरण गरिएको छ ।” सरकारले सरहयोग गरे हालको प्रतिदिन करिब १ सय ६० किलो उत्पादन वृद्धि गरेर १ हजार किलोसम्म गर्न सकिने उनको दाबी छ ।

वर्षायाममा माछा बढी उत्पादन हुने भएकाले काठमाडौंको थापाथलीस्थित माछाघरलाई बेच्ने गरिएको संघका कोषाध्यक्ष विश्व लामाले बताए । माछाघर देशभरबाट माछा संकल गरी ‘ब्लास्ट फ्रोजन’ प्रविधि प्रयोग गरी माछा बिक्री गर्दै आएको एकमात्र कम्पनी हो । “कुलेखानीका माछा प्राकृतिक रूपमा उत्पादन हुने भएकाले निकै स्वादिला छन्,” माछाघरका सञ्चालक दीपेन्द्र भण्डारीले भने । कुलेखानीमा अहिले कमन कार्फ, सिल्भर कार्फ, विग्हेट कार्फ, रहु, नैनीलगायत जातका माछा उत्पादन भइरहेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :