राजधानीमा दैनिक सय टनभन्दा बढी तरुल बिक्री

यो समाचार 241 पटक पढिएको

काठमाडौं, पुस २८ । माघे सक्रान्ति नजिक आएकोले बल्खु र कालीमाटी तरकारी बजारमा देशभरीबाट विभिन्न किसिमका तरुलहरु आएका छन । बजारमा ठूला ठूला थुप्रोमा रहेका तरुलका चाङहरु हेर्न लायक देखिएका छन । ब्यापारीहरुका अनुसार नेपालबाट मात्र होइन, छिमेकी देश भारतबाट समेत तरुल र सखरखण्ड आयात भएको छ । ठूलीएकादशीदेखि शुरु भएको तरुलको कारोबार अहिले सक्रान्ति नजिक आएपछि कारोबारमा उल्लेख्य बृद्धि समेत भएको छ ।

tarul-photo

बल्खु कृषि तथा तरकारी बजारका ब्यवसायी हरिहर रुपाखेतीका अनुसार पुस २० गतेदेखि बल्खुमा दैनिक ५० देखि ६५ टन सम्म तरुल बिक्री भैरहेको छ । यहाँ सबै किसिमका तरुलहरु रहेका छन । खासमा कालीमाटीमा भन्दा पनि बढी किसिमका तरुलहरु बल्खु तरकारी बजारमा छानीछानी किन्न पाइन्छ । यो बजार सस्तो पनि रहेको छ । बल्खु तरकारी बजारमा प्रति केजी तरुलमा कालीमाटीभन्दा २० रुपैयाँसम्म सस्तो रहेको छ । अर्का ब्यवसायी शिवराज खनालले पनि बल्खुमा तरुल यसपटक धेरै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बल्खुमा करिब २७ किसिमका तरुलहरु उपलब्ध छन । त्यसमध्ये तरुलको राजा भनेर चिनिने हात्तीपाइले तरुल सबैभन्दा बढी अहिले बल्खु तरकारी बजारमा रहेको छ । सबैभन्दा महंगो मानिएको यो तरकारी बल्खु तरकारी बजारबाट कालीमाटीमा समेत जाने गरेको छ । बल्खुका केही तरकारी ब्यवसायीहरु मिलेर पाल्पा र नवलपरासीको उच्च भेगमा गएर हात्तीपाइले तरुल ल्याएर आएका छन । किसानसँगै प्रत्यक्षरुपमा खरिद गरेर ल्याएकोले बल्खुमा तरुल सस्तो भएको हो । कृषि ब्यवसायी रुपाखेतीले दिएको जानकारी अनुसार हात्तीपाइले रातो रङको तरुल पाल्पा र नवलपरासीमा मात्र पाइन्छ । यो सबैभन्दा महंगो तरुल हो ।

त्यस्तै अहिले चितवन पत्ताले, मुडे, सिमल तरुल, सखरखण्ड, स्कुसको जरा, बनतरुल, पिडालु लगायतका २७ किसिमका तरुल बल्खुमा उपलब्ध भैरहेको ब्यवसायीहरुले जानकारी दिएका छन । त्यस्तै अर्को तरकारी बजार कालीमाटीमा भने तरुल केही महंगो रहेको एक ब्यवसायीले जानकारी दिएका छन । कालीमाटीका ती ब्यवसायीको भनाई थियो, सिजन भएकोले महंगो भएको हो । केही दिनमा सस्तो भैहाल्छ । किसानसँग कसले कति मूल्यमा ल्याएको हो, त्यसै अनुसार सस्तो महंगो हुने गर्छ, उनको भनाई थियो । कालीमाटीमा पनि दैनिक ५० टनको हाराहारीमा तरुल बिक्री भैरहेको जनाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक अर्जुन अर्यालले स
क्रान्तिका कारण तरुल बढी आएको र यसपटक गत बर्षको तुलनामा केही महंगो भएको बताए ।
बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरका अनुसार तरुल मात्र होइन, अन्य तरकारी पनि बल्खुमा सस्तो रहेको छ । प्याजको मूल्य केही समय अघि महंगो भएपनि अहिले प्रतिकेही ३५ रुपैयाँसम्ममा झरिसकेको छ । किसानहरुले सीधै ल्याएर बिक्री गर्ने भएकोले पनि यहाँ तरकारीको मूल्य निकै सस्तो रहेको छ । तरुलको सिजन भएकोले अहिले यहाँ तरुलका ठूला ठूला थुप्राहरु देखिएका छन । खरिदकर्ताहरुको चाप पनि निकै देखिएको छ । बिगतमा भन्दा यसपटक तरुल धेरै आएको देखिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :