किसान गड्यौलापालनतर्फ आकर्षित

यो समाचार 333 पटक पढिएको

दाङ, २५ पुस । जिल्लाको रामपुर गाविस–३ का किसान जैविक मल उत्पादन गर्नका लागि गड्यौलाखेतीतर्फ आकर्षित भएका छन् । रासायनिक मल प्रयोग गरेर तरकारी तथा अन्नबाली खाँदा विभिन्न प्रकारका रोग लाग्ने र माटोको उर्वरा शक्तिसमेत नासिने भएकाले आफूहरू गड्यौलामार्फत जैविक मल उत्पादन गर्न गड्यौला पाल्ल थालेको किसान बताउँछन् । विसं २०६६ देखि दुईवटा प्लटमा गड्यौला पाल्दै आउनुभएका रामपुर–३ पलासे निवासी सोधबहादुर चौधरीले प्रत्येक तीन–तीन महिनामा चार क्विन्टलसम्म आफूले जैविक मल उत्पादन गर्न सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार गड्यौला पाल्दा ओसिलो ठाउँ, स्याउला र केही मात्रामा गाईबस्तुको मल प्रयोग गरिन्छ । यसरी तयार गरिएको स्थानमा गड्यौलाका बच्चा ल्याएर राख्दा त्यसले मल बनाउने उहाँले बताउनुभयो ।

सुरुमा आफूले मात्र गड्यौला पाले पनि अहिले गाविसका विभिन्न गाउँका एक दर्जनभन्दा बढी किसानले पनि गड्यौलापालन गरेको चौधरीले जानकारी दिनुभयो । गड्यौलाले बनाएको जैविक प्रयोग गरेमा रोग पनि कम लाग्ने र रासायनिक मल किन्ने पैसाको समेत वचत हुने जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिवर्डका) का प्राविधिक खुमबहादुर चेपाङले जानकारी दिनुभयो । लिवर्डकै सहयोगमा किसानलाई गड्यौला पाल्नका आकर्षण गरिएको भन्दै उहाँले यस अभियानलाई रामपुर गाविसका सबै गाउँमा विस्तार गरिने बताउनुभयो ।

नब्बे प्रतिशत आलुखेती समाप्त गौशाला, २५ पुस । लगातार रूपमा बढ्दै गइरहेको चिसोका कारण महोत्तरीमा लगाइएको ९० प्रतिशत आलुखेती नष्ट भएको छ । जिल्लामा व्यक्तिगतरूपमा लगाइएको २ सय हेक्टर र सार्वजनिक निजी साझेदारीतर्फ लगाइएको ५० हेक्टर आलुखेतीमध्ये ९० प्रतिशत खेती चिसोबाट समाप्त भइसकेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । चिसोले गर्दा आलुको बोटमा डढुवा रोग लागेर जरा, डाँठ र पात कुहिएको र ठुटोसमेत बाँकी नरहेको अवस्थामा पुगेर आलुखेती नष्ट भएको किसानलाई उद्धृत गर्दै जिल्ला कृषि विकास कार्यालयका वागवानी प्राविधिक सहायक लालकुमार साहले बताउनुभयो ।

उहाँले साधारण कार्यक्रमतर्फ आलुखेतीको पकेट क्षेत्र मानिएको जिल्लाको गौशाला, औरही, रामगोपालपुर, रतौली, महदैया तपनपुर, हल्खोरी, रामनगर र जलेश्वर नगरपालिका तथा सार्वजनिक निजी साझेदारीतर्फ जिल्लाको मटिहानी, धिरापुर, गोनरपुरा र जलेश्वर नपा–१० रहेको बताउँदै सो क्षेत्रमा रहेको ९० प्रतिशत आलुखेती चिसोबाट नष्ट भइसकेको बताउनुभयो । आलुखेतीमा लागेका जिल्लाका सयौँ किसान यस वर्ष आलु उत्पादनमा निकै कमी आउने चिन्तामा छन् । बढ्दो चिसोका कारण जिल्लाका आलुमात्रै नभई सबै प्रकारका तरकारी र दलहनखेती निकै प्रभावित भएको किसान बताउँछन् ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :