जुम्लामा झन्डै १२ लाख स्याउका बिरुवा उत्पादन

यो समाचार 315 पटक पढिएको

 जुम्ला, २५ पुस । यस वर्ष जुम्लामा झन्डै १२ लाख स्याउका बिरुवा उत्पादन गरिए पनि खपत न्यून सङ्ख्यामा हुने देखिएपछि जुम्ली किसानलाई दुई करोड ५० लाखभन्दा बढी घाटा ब्यहोर्नुपर्ने अवस्था आएको छ । Apple 1घरेलु तथा साना उद्योग कार्यालय जुम्लामा मात्र दर्ता भएका स्याउ नर्सरी १०६ वटा छन् भने दर्ता नभएका नर्सरी पनि दर्जनाँै छन् । त्यसमा पनि फलफूल विकास निर्देशनालयद्वारा आधिकारिकता प्रदान गरेका ८२ वटा नर्सरी रहेको बागवानी विकास अधिकृत कर्णबहादुर कठायतले बताउनुभयो । अधिकृत कठायतका अनुसार बागवानी विकास अधिकृतको संयोजकत्वमा नेपाल कृषि अनुसन्धान, जिल्ला कृषि समिति, सम्बन्धित सेवा केन्द्रको प्रमुख र गाविस सचिवसहितको पाँच सदस्यीय टोलीको अनुगमनबाट दर्ता नर्सरीमा मात्र १० लाख ७८ हजार ६०० बिरुवा छन् ।

उत्पादित बिरुवामा पनि अनुगमन टोलीले आधिकारिक सबै नर्सरीमा रोग किराको प्रकोप र स्याउको गुणस्तरलाई हेरी स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत जुम्लाका लागि मात्र ३० हजार बिरुवाको बिक्री वितरणको सिफारिस गर्नेछ । त्यसमा सबै नर्सरीको सम्बोधन हुन देखिँदैन । दर्ता नभएका नर्सरीको त कुरै छैन । यसले गर्दा जुम्लाका नर्सरी धनीका झन्डै रु दुई करोड ७५ लाख मूल्यबराबरको स्याउका बिरुवा अझै पनि नर्सरीमा थन्किने देखिन्छ ।

जसका कारण वर्षौंदेखि नर्सरी खेतीमा लगानी गर्दै आएका स्याउ कृषकले अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेपछि ब्यग्र चिन्ता र सङ्कटमा परेका छन् । यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले आपूर्तिभन्दा उत्पादन बढी भई स्याउ खपत नभएकाले स्याउ कृषक मर्कामा परेको र यसमा कार्यालयले अनुगमन तथा सहजीकरणबाहेक केही गर्न नसक्ने बताउनुभयो । जुम्लामा उत्पादन गरिएका रोयल डेलिसिय, म्याकन्टेस्, गोल्डेन र रिचारेट डेलिसियस चार जातका स्याउ निर्देशनालयको निर्देशनअनुरूप हिमाली १६ जिल्लामा प्रति बिरुवा रु २५ का दरले वितरणका लागि कृषिलाई अनुमति दिएको र त्यसमा अन्तर जिल्ला डोल्पामा निजी नर्सरीबाट १५ हजार ७५० र पूर्वीे हिमाली जिल्लामा पनि २० देखि ३० हजार बिरुवा निर्यात हुने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । अहिले उक्त कार्यालयले स्याउ कृषक सबैलाई सो व्यवसाय नगर्न अनुरोध गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :