एक वर्षमा १० करोडको पशुबिमा

यो समाचार 138 पटक पढिएको

काठमाडौं : बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई बाली तथा पशुधन बिमा अनिवार्य गरेको एक वर्षको अवधिमा नौ करोड ८७ लाख रुपैयाँबराबरको बिमा भएको छ। बिमा समितिले गत माघदेखि निर्जीवन बिमा कम्पनीलाई बाली तथा पशुधन बिमा अनिवार्य गराएको थियो। एक वर्षको अवधिमा बिमा कम्पनीले यी क्षेत्रबाट ५१ लाख रुपैयाँ बिमा शुल्क समेत आर्जन गरेका छन्।

बिमा समितिका निर्देशक श्रीमान् कार्कीले बाली तथा पशुधन बिमाको उपलब्धि सकारात्मक भएको बताए। ‘आगामी दिनमा यसको राम्रो सम्भावना रहेको भन्ने एक वर्षको तथ्यांकले देखाउँछ’, उनले भने, ‘बाली तथा पशुधन बिमामा केही प्राविधिक कठिनाइ देखिए पनि सरोकारवाला निकायसँग बसेर यसको समाधान गर्न लागिरहेका छौं।’

 

बाली तथा पशुधन बिमा गराउने कम्पनीमा एनएलजी इन्सुरेन्स र शिखर इन्सुरेन्स अगाडि देखिएका छन्। दुवै कम्पनीले बिमा समितिले बाली तथा पशुधन बिमा अनिवार्य गर्नुभन्दा अगाडि कृषि क्षेत्रमा बिमा गर्न सुरु गरिसकेका थिए। बिमा समितिको तथ्यांक अनुसार तीन करोड ८७ लाख रुपैयाँको बिमा एनएलजी इन्सुरेन्सले गरेको छ भने दुई करोड ७९ लाख रुपैयाँको बिमा शिखर इन्सुरेन्सले गरेको छ।

शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले कृषि बिमाका लागि बिमा कम्पनीलाई प्राविधिक ज्ञानको कमी भएको बताए। ‘कृषि बिमाको कारोबार बढाउन अभिकर्तालाई पनि तालिम आवश्यक देखिएको छ’, उनले भने, ‘कृषि बिमा बढाउन हामीले सहकारीसँग मिलेर काम गर्ने योजना बनाएका छौं’, निर्जीवन बिमा कम्पनी तथा बिमा समितिले मिलेर एक करोड रुपैयाँको कोष बनाई कृषि बिमा प्रवद्र्धन गर्ने योजना बनाएको जानकारी पाण्डेले दिए।

बिमा समितिले बाली तथा पशुधन बिमा अनिवार्य गरेपछि सरकारले बजेटमार्फत किसानको ५० प्रतिशत प्रिमियम तिरिदिने घोषणा गरेको थियो। पशु बिमाको तुलनामा बाली बिमामा भने प्राविधिक कठिनाइ देखिएको बिमा समितिले जनाएको छ।

अन्नपूर्णबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :