विषादीको प्रयोग वार्षिक तीन सय ४५ टन

This post has already been read 160 times!

काठमाडौं, २४ पुस । पछिल्लो समयमा नेपालमा खाद्यान्न र तरकारीलगायतका वस्तुमा विषादीको प्रयोग ह्वात्तै बढेको छ । आजभन्दा दस वर्ष अघिसम्म ५० मेट्रिक टन वार्षिक रुपमा आयात हुँदै विषादी अहिले बढेर ३ सय ४५ मेट्रिक टन पुगेको छ । विषादी भनेको विष हो, औषधि होइन भन्ने कृषकहरुलाई ज्ञान नहुँदा यसको प्रयोग बढेको विज्ञहरु बताउँछन् । विषादीको प्रयोग बालीमा लाग्ने किरा र रोगलाई निर्मूल पार्न गरिने भएता पनि यसको प्रयोग विधिबारेमा आवश्यक जानकारीको कमीले उपभोक्ता बढी मारमा परेका छन् ।

pesticides_on_food-2-300x215कृषकले बालीको उत्पादन राम्रो होस्, लगानी डुबाउनु नपरोस् भन्ने मुख्य ध्येयका साथ विषादीको प्रयोग गर्दै आएकाले यो रहरले होइन, बाध्यताले हो भन्ने बुझिन्छ । नेपालमा समग्रमा प्रतिहेक्टर १ सय ८२ ग्राम विषादीको प्रयोग भएको तथ्यांक छ । अन्य मुलुकको तुलनामा यो प्रयोग अत्यन्तै न्यून भएपनि प्रयोग विधि थाहा नहुँदा नकारात्मक असर धेरै देखिन थालेको छ । नेपालमा फलफूल, चिया र तरकारीमा विषादीको प्रयोग अत्याधिक हुँदै आएको पाइन्छ । नेपालका सहर र गाउँबस्तीका बारी र फाँटमा प्रयोग हुने सबै खाले विषादी विदेशबाट आयात गरिँदै आइएको छ । अहिले नेपालमा वार्षिक रुपमा ३८ करोड मूल्य बराबरको विषादी आयात भइआएको सरकारी आँकडा रहेको छ ।

मानव स्वास्थ्यका हिसाबले अत्यधिक हानिकारक भएकाले विगतमा प्रयोग भइआएकामध्ये केही वर्षयता १५ वटा अतिघातक विषादी आयातमा सरकारले प्रतिबन्ध लगाइसकेको छ । विषादीको प्रयोग व्यवस्थित ढंगबाट गर्न नसकिए आँखा, श्वासप्रश्वास र छालामा तुरुन्तै असर देखा पर्ने विज्ञहरुको भनाइ छ । नेपालमा मात्रै १५ लाख किसानलाई विषादीले असर पार्दै आएको छ । विषादीको प्रयोग गरिएका खाद्यवस्तु, फलफूल, तरकारीको सेवनले मानिसको सिक्ने क्षमतामा ह्रास ल्याउनाका साथै महिलामा स्तन क्यान्सर हुने सम्भावना रहन्छ ।

विषादीको प्रयोग भएका खानाबाट खासगरी गर्भवती महिला बढी जोखिममा पर्ने गरेको तथ्याङ्कले देखाएको छ । विषादी प्रयोग गरिएका स्थानबाट दुई हजार ६ सय मिटर टाढा रहेका बस्तीमा समेत यसले असर पार्ने गर्दछ । विषादीको प्रयोगले मानव स्वास्थ्यमा मात्र नभई लाभदायक किरा, मानव शरीरका मित्र जीव र जमिनको माटोलाई समेत असर तुल्याउने गर्दछ । विषादी प्रयोग गर्दा यसबाट बच्न किसानले पञ्जा, टोपी, जुत्ता, स्प्रोनलगायतका पोसाक लगाउन अनिवार्य गर्न जरुरी देखिएको छ तर नेपालमा भने ४१ प्रतिशतले विषादीको प्रयोग गर्दा यसको सुरक्षाको पाटोलाई हेक्का राख्ने गरेका छैनन् । खाद्य वस्तुमा विषादीको प्रयोग पछि कति समय त्यसको उपयोग गर्न हुन्न भन्ने पाटोलाई नेपालमा पटकै ख्याल गरको पाइन्न । त्यसको पालना गर्न सकिएन भने विषादी खाइन्छ । नेपालमा ५४ प्रतिशतले त्यो पक्षलाई ध्यान दिएको पाइँदैन ।

मुलुकका कतिपय किसानले त बजारमा लाने तरकारीमा अत्यधिक विषादीको प्रयोग गर्ने अनि त्यो तरकारी आफूचाहिँ नखाने गरेको तथ्य खुलेको छ । झन्डै ११ प्रतिशत किसानले आफूले खाने तरकारी छुट्टै उत्पादन गरेको भेटिएको छ । मानव स्वास्थ्यलाई भन्दा पनि अत्यधिक किसानले तुरुन्तै रोग र किरा मर्ने विषादीको धेरै प्रयोग गर्ने गरेको पाइन्छ । बालीनाली, मुसा मार्ने, झार मार्नेलगायतका कार्यका लागि खरिद गरिएको विषादीको असरबाट २० देखि २९ वर्ष समूहका युवायुवती अझ बढी पीडित हुने गरेको बताइन्छ । रासायनिक विषादीको प्रयोग नगरी खेतीबाली बढाउन सकिन्न भन्ने पाटोलाई रोकेर जैविक विषादीको प्रयोगलाई बढावा दिने खालका कार्यक्रमलाई अघि बढाउने नीति सरकारले अघि सारेको छ । सो क्रममा मुलुकका छ जिल्लामा त्यसको परीक्षण प्रयोग भइरहेको र प्रारम्भिक परिणाम अत्यन्तै सकारात्मक रहेको बताइएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर विभागद्वारा आज यहाँ आयोजित विषादी र खाद्य स्वच्छतासम्बन्धी सचेतना कार्यक्रममा सहभागी विज्ञहरुले बालीनालीमा अत्यधिक विषादी प्रयोगबाट काभ्रेका किसानलाई कसैले छोरी नदिने र त्यहाँका अभिभावकले बुहारी नपाउने चर्चासमेत चल्न थालेको जानकारी दिए । उनीहरुले खेतीबालीमा कमभन्दा कम विषादीको प्रयोग गर्न, वनस्पति विषादीको प्रयोगलाई प्राथमिकता दिन र मानव स्वास्थ्यमा ध्यान पु-याउन कृषकलाई सल्लाह दिनुभयो । आयोजक संस्थाका महानिर्देशक जीवनप्रभा लामा, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष प्राध्यापक माधव शर्मा, संस्थाका सचिव विमला खनाल, बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्मालगायतले खाद्य स्वच्छताबारे छ वर्षदेखि अभियान चलाउँदै आएको जानकारी दिनुभयो । यस्ता कार्यक्रम थोक तरकारी बजार, कृषक र विद्यालयका विद्यार्थीलाई लक्ष्यित गरी सञ्चालन गरिने उहाँहरुले बताउनुभयो ।