काठमाडौंमा थप दूधको आपूर्ति

यो समाचार 135 पटक पढिएको

मकवानपुर, २४ पुस । हेटौंडा दूध वितरण आयोजनाले अहिले तराईका विभिन्न जिल्लाबाट दैनिक ४० हजार लिटर दूध संकलन गर्ने गरेको छ । संकलित दूधमध्ये आयोजनाले दैनिक २४ हजार लिटर दूध काठमाडौं पठाउने गरेको छ । यसैगरी, विराटनगरमा धुलो दूध उत्पादनका लागि सो आयोजनाले दैनिक ६ हजार लिटर दूध पठाउँदै आएको छ ।Milk

आयोजनाले पर्साको वीरगञ्ज, बाराको सिमरा, चितवनको नारायणगढ, भरतपुर एवम् मकवानपुरको हेटौंडामा गरी १० हजार लिटर दूध स्थानीय उपभोक्तालाई दैनिक वितरण गर्ने गरेको छ । सो आयोजनाले तराईका महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरका १ सय ५५ वटा दूध उत्पादक सहकारी संस्थाबाट दैनिक दूध खरिद गर्दै आएको छ । तराईका जिल्लाहरु र मकवानपुरका समेत गरी जम्मा २१ हजार ६ सय ७४ जना कृषक परिवार दूधको उत्पादन तथा वितरण व्यवसाय सञ्चालन गरी आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।

उक्त आयोजनाले कृषकहरुबाट दूध खरिद गरेबापत दुई करोड ७० लाख ७१ हजार रकम भुक्तानी गर्ने गरेको छ । आयोजनाले वार्षिक रुपमा स्थानीय कृषकहरुको दूध खरिद गरेबापत कुल ३५ करोड ३४ लाख ४४ हजार रकम भुक्तानी गर्दै आएको आयोजना प्रमुख सरोज सिंखडाले बताउनुभयो । सो आयोजनाले अहिले पनिर एक हजार केजी, घ्यू ७ सय केजी र दही ९ सय लिटर उत्पादन गरी स्थानीय बजारमा आपूर्ति गर्दै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :