भारतीय धान भित्रिएपछि नेपाली किसान प्रभावित

यो समाचार 294 पटक पढिएको

जनकपुरधाम, २४ पुस । नेपाली बजार भाउभन्दा सस्तो मूल्यमा भारतीय धान भित्रिन थालेपछि धनुषा जिल्लाका किसान प्रभावित हुन थालेका छन् । भारत सरकारले आफ्ना देशका किसानलाई धानमा अनुदान दिने गरेकाले भारतीय धान सस्तो हुने र त्यस्ता धान खुला सिमानाबाट अवैध रुपमा नेपाल भित्रिने गरेकाले यहाँका किसानले आफूले उत्पादन गरेको धानको उचित मूल्य पाउन सकेका छैनन् ।Paddy

खुला सीमा तथा तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै व्यापारीले भित्र्याउने भारतीय धानसँगै प्रतिष्पर्धा गर्न नसकेका कारण यहाँका किसान आफ्नो उत्पादनलाई सस्तो मूल्यमा बेच्न बाध्य भइआएको सखुवा महेन्द्रनगरका व्यापारीहरुको भनाइ छ । खाद्य संस्थान जनकपुरले यस जिल्लामा हालसम्म धानको खरिद मूल्य निर्धारण नगर्दा गल्ला व्यापारीले आफू खुसी मूल्यमा धान खरिद गर्ने गरेको धनुषाका किसान रामचरित्र बताउनुहुन्छ । प्रारम्भिक खरिद समितिको बैठक एक÷दुई दिन मै बसेर धानको खरिद मूल्य निर्धारण गरिने बताइएको छ । खाद्य संस्थान जनकपुर शाखाका प्रमुख गुदर शाह भन्नुहुन्छ, “मूल्य निर्धारण नभए हामी सोना मनसुली र बासमती धान खरिद गर्नेछौँ ।”

संस्थानले चालु आवमा दुई हजार ५ सय टन सोना मनसुली र बासमती धान किन्ने लक्ष्य राखेको बताइन्छ । धनुषा जिल्लामा यसवर्ष किसानले ४४ हजार २ सय हेक्टरमा धान लगाएको र एक लाख २३ हजार ३ सय ३० मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । जिल्लामा ६५ हजार ५ सय हेक्टर खेतीयोग्य जग्गा रहेकामा समयमा पानी नपर्दा २१ हजार ३ सय हेक्टर खेत बाँझो नै रहेको थियो । गतवर्ष ५६ हजार ३ सय ३० हेक्टरमा धानखेती भई एक लाख ४८ हजार ८ सय ९० टन धान उत्पादन भएको थियो ।

धनुषा जिल्लामा उत्पादन र उत्पादकत्व क्रमशः घट्दै गएकाले धानका लागि छिमेकी मुलुक भारतमाथिको निर्भरता बढ्दै गएको छ । प्राप्त तथ्यांकअनुसार धनुषामा २०६४, २०६५, २०६७ र २०६८ साल धानको उत्पादकत्व क्रमशः ३.६१, ३.४, २.७६, २.८५ र ३.२० प्रतिशतले घटेको छ । भारतीय धान सस्तोमा पाइने भएपछि अहिले व्यापारीले दलालमार्फत खुला सीमाको फाइदा उठाउँदै दैनिक ठूलो परिणाममा भारतीय धान नेपाल भित्र्याउने गरेका छन् । सखुवा महेन्द्रगरस्थित बजरङ्ग सेलर मिलका सञ्चालक दिनेश राय भन्नुहुन्छ, “भारतबाट सस्तो मूल्यको धान नेपाल भित्रिएपछि यहाँको व्यापार ५० प्रतिशतले घटेको छ ।” धानमा कृषि विकास शुल्क पाँच प्रतिशत लाग्छ । खुला सीमाका कारण तस्करी भई भित्रिने धानले सरकारको राजस्वसमेत प्रभावित भएको सीमा क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :