माघे संक्रान्ती पर्वमा ‘कस्ता खाद्य’ पदार्थ उपभोग गर्ने ?

यो समाचार 309 पटक पढिएको

अपनाउनु पर्ने सावधानी

• जीवन प्रभा लामा

नेपाल एक वहुजातिय, वहुभाषिक र वहुसास्कृतिक राष्ट्र हो । यहाँ विभिन्न जात जातिहरुले विभिन्न चाडपर्वहरु मनाउने चलन छ । यसरी मनाइने चाडपर्वहरु जाति विशेष भएतापनि सम्पूर्ण नेपालीहरुले भब्यताका साथ मनाउने परम्परा रहेको सर्ववितितै छ । यसरी मनाइने नेपालको महत्वपूर्ण चाडपर्वहरु मध्ये माघे सक्रान्ती पनि एक हो । यो पर्व विभिन्न जातजातिहरुले आ– आफ्नो तरिकाले भब्यताका साथ मनाउने गरेको पाइन्छ । यस पर्वमा विहानै उठेर नुहाउने गरीन्छ यसलाई मकर नुहाउने भनिन्छ ।

जीवन प्रभा लामा

यसरी नुहाइ धुहाइ गरेपछि तरुल, तिलको लड्डु, भूजाको लड्डु, सेलरोटी, खिर, चाकु, खिचडी, आदि खानका साथै आफ्ना छर छिमेकीलाई समेत बाडेर खाने प्रचलन रहेको पाईन्छ । चाडपर्वहरु विभिन्न जातजाती, धर्म अनुसार आ–आफ्नो किसिमले मनाउंदै आएको छ ।

माघे संक्रान्तीमा पवित्र स्थानहरुमा मेला लाग्ने हुन्छ । तराईमा माघी पर्वको रुपमा मनाउने चलन छ । यसलाई मकर संक्रान्ती पर्व पनि भनिन्छ । यस पर्व पछि नराम्रो जाडो यामको समाप्तीको रुपमा लिईन्छ ।  माघे संक्रान्तीको अवसरमा उपभोग गरिने विविध खानेकुराहरुको पौष्टिक महत्व, यसले मानव स्वस्थ्यमा पुर्याउने फाइदा एवं हामीले अपनाउनु पर्ने सावधानीहरुको बारेमा परिचर्चा गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।

माघे सक्रान्ती पर्वमा उपभोग गरिने खाद्य परिकारहरु, तयार गर्ने प्रविधि र पौष्टिक महत्वः

१. तिलको लड्डुः कालो वा सेतो तिललाई खरिने गरी भूटेर सख्खरको मनतातो गरी तताएर लेदोको सहायताले गोलो डल्ला पारी तिलको लड्डु तयार गरिन्छ । तिलमा हाम्रो शरिरलाई अति आवश्यक तेल (Essential Oils ) पाइन्छ । तिलको लड्डुमा सख्खर प्रयोग गरिएको हुनाले शत्तिको श्रोत पनि हो । यसरी तिलको लड्डु हाम्रो स्वस्थ्यको लागि फायदाजनक हुन्छ । तिलमा प्रोटिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट जस्ता शक्तिजन्य पदार्थहरु पाईन्छ ।

२. तरुल : तरुल एक प्रकारको कन्दमुल हो । यो कार्बोहाइड्रेट र खनिजको मुख्य श्रोत हो । यसमा चिल्लोको मात्रा कम हुने र डायटरी फाइवर बढी हुने हुँदा मानव स्वस्थ्यको लागि राम्रो मानिन्छ । तरुल पोषणको कारण आलु भन्दा राम्रो मानिन्छ । यसलाई उसिनेर, पोलेर र तरकारी बनाएर खान सकिन्छ । माघे संक्रान्तीमा तरुल, पिडालु, सिमल तरुल जस्ता कण्दमुल खाने गरिन्छ । स्थानिय उपलब्ध अन्य कन्दमुल पनि उपयोग गर्ने प्रचलन रहेको छ ।

३. खीरः माघे सक्रान्तीमा खाइने खाद्य परिकारहरु मध्ये खीर पनि अर्को महत्वपूर्ण खाद्य परिकार हो । गाई वा भैसिको दुधमा चामल पकाएर खीर तयार गरिन्छ । यसलाई गुलियो बनाउन चिनी समेत मिसाएर बनाउन सकिन्छ । यसको अलवा खीरलाई अझ बढी स्वादिलो बनाउन किसमिस, काजु, नरिवलको टुक्रा, पिस्ता आदि समेत राख्न सकिन्छ । खीरमा कार्बोहाइड्रेट र प्रोटिन प्रर्याप्त मात्रामा पाइन्छ । माघे सक्रान्ती पर्व जाडो मौसममा पर्ने भएकोले तातो तातो खीरको उपभोग गर्नाले जाडोबाट बच्न, शरिरलाई न्यानो राख्न एवं फूर्ति राख्न समेत सहयोग पु¥याउँछ ।

४. सेलरोटीः यो खाद्य परिकार नेपालको परम्परागत खाद्य परिकार हो । सेलरोटी चामलको पिठोमा घ्यू वा बटर, चिनी राखी तयार गरिन्छ । यसमा अलैची, सुकमेल, नरिवलको टुक्रा आदि इच्छा अनुसार राख्न पनि सकिन्छ । चामलको पिठोलाई चिनी र पानीसँग मोलेर बाक्लो लेदो (पेष्ट) बनाई १-२ घण्टा छोपेर राखिन्छ । त्यसपछि उक्त पेष्टलाई दुध वा पानीसँग मिसाएर सेलरोटीको ब्याटर तयार गरिन्छ । ब्याटरलाई खरिएको घ्यू वा तेलमा गोलो आकारको हुनेगरी पकाई सेलरोटी तयार गरिन्छ । सेलरोटीमा कार्बोहाइड्रेट र चिल्लो पदार्थ पाइन्छ । यसका अलवा प्रोटिन एवं खनिज पदार्थहरु पनि पाइन्छ । सेलरोटी खानाले शक्ति प्राप्त हुन्छ । तर सेलरोटी धेरै खानु भने हुदैन किनकी यसमा चिल्लो पदार्थ धेरै हुने हुनाले शरिरलाई बेफाइदा पनि गर्न सक्दछ ।

५. चाकुः यो नेपालको नेवारी परम्परागत खाद्य पदार्थ हो । यो सख्खर वा चिनीबाट तयार गरिन्छ । सख्खरलाई तताएर पगालेर बाक्लो हुनेगरी पकाउने र बाक्लो हुन थालेपछि आवश्यक मात्रामा घ्यू राखी पुनः केहिबेर पकाएपछि चाकु तयार हुन्छ । यसरी चाकु तयार पाकेपछि सेलाउन नपाई नरिवलको धूलो, काजु, बदामको टुक्रा आदि बाहिरी भागमा राखेर सजाउन साथै स्वादिलो बनाउन सकिन्छ । चाकुमा कार्बोहाइड्रेट, चिल्लो पदार्थ साथै खनिज तत्वहरु पाइन्छ । चिनीबाट भन्दा सख्खरबाट बनेको चाकुमा खनिज तत्वहरु बढी हुने साथै हेर्दा आकर्षक पनि हुन्छ ।

यी बाहेक अन्य खाद्य परिकारहरु समेत माघे सक्रान्ती पर्वमा ठाँउ बिशेष एवं जाती विशेषले तयार गरी खाने र बाड्ने प्रचलन हाम्रो समाजमा रहेको छ ।

खानेकुराहरु बनाउँदा वा किन्दा अपनाउनु पर्ने सावधानीहरुः

यसरी चाड पर्वको अवसरमा खानेकुरा तयार गर्न आवश्यक पर्ने सर सामाग्रीहरु तथा तयारी खानेकुराहरु खरिद गर्दा धेरै कुरामा ध्यान पुर्याउनु आवश्यक छ । व्यापारीहरुले नाफा कमाउने उद्देश्यले कमसल खाद्य पदार्थहरु उत्पादन गरी बिक्रि वितरण गर्ने गरेको समेत पाइन्छ ।

यसरी माघे सक्रान्ती पर्वको अवशरमा तयार गरी खाइने विभिन्न खाद्य परिकारहरु पोषिलो एवं स्वस्थ्यको लागि फाइदाजनक हुँदा हुँदै पनि हामीले सहि विचार पुर्याउन नसक्दा हाम्रो स्वास्थ्यलाई हानी समेत पुर्याउन सक्दछ । त्यसकारण हामीले खानेकुराहरु तयार गर्दा होस् वा बजारबाट किनेर ल्याउदा समेत बिशेष ध्यान पु¥याउनु पर्ने एवं सावधानी अपनाउनु पर्ने हुन्छ । कुन खानेकुरामा के कस्ता खराबीहरु हुन्छन् र कस्तो सावधानीहरु अपनाउने भन्ने बारेमा यहाँ चर्चा गरिएको छ ।

तिलको लड्डु बनाउदा प्रयोग गरिने तिलको दाना सफा, ताजा, किराले क्षति नपुर्याएको, ढुसी नपरेको हुनुपर्दछ । ढुसी हाम्रो स्वास्थ्यको लागि अत्यन्तै हानिकारक हुन्छ । ढुसीले हाम्रो शरिरमा क्यान्सर समेत गराउने एक प्रकारको माइकोटक्सिन हुन्छ ।

कतिपय कन्दमूलहरु विशेषगरी पिडालु, तरुल, सिमल तरुलहरुमा पोषक तत्व घटाउने खालका प्रति पोषक तत्वहरु (Anti-nutritional factors) समेत हुने भएका कारण उचित तरीकाले तयारी नगरी उपभोग गर्दा शरिरलाई फाइदा नभै हानी पुर्याउदछ । यस्ता उपजहरुमा पाइने प्रति पोषक तत्वहरुमा कोक्याउने तत्व अक्जालेट शरिरमा खनिजलाई सोस्न अवरोध गर्ने, प्रोटिन र कार्बोहाइड्रेटको पाचनशक्ति घटाउने एवं एलर्जि समेत गराउन सक्दछ । यसमा भएको प्रति पोषक तत्वहरुलाई हटाउन यस्ता कन्दमूलहरुलाई राम्ररी पकाउनु पर्दछ र हरियो भएको कन्दमूल खानु हुदैन ।

त्यसैगरी सेलरोटी, फुलौरा, बारा तयार गर्दा प्रयोग गरिने तेल पुरानो हुनुहुदैन । पुरानो तेलमा शरिरलाई असर गर्ने पेरोक्साइड नामको रसायन बन्दछ । यसरी पुरानो भै र्यान्सिड भएको तेलमा पकाएको खाद्य परिकारको स्वाद एवं वास्ना नमिठो हुन्छ । धेरै पटक तताउदै प्रयोग गरेको बासी तेल यस्ता खाद्य पर्दाथ पकाउन प्रयोग गर्नु हुदैन । यसरी धेरै पटक प्रयोग गरेको तेलमा स्याचुरेटेड फ्याट्टी एसिड र ट्रान्स फ्याट्स बन्दछन जसले हाम्रो मुटुलाई असर पु¥याउदछ ।

अर्को खानेकुरा चाकु तयार गर्दा प्रयोग गरिने सख्खर गुणस्तरीय हुनुपर्दछ साथै चाकुलाई डढ्ने गरी धेरै तापक्रममा पकाउनु हुदैन । डढेको चाकुको स्वाद तितो भै नमिठो मात्र हुने हैन त्यसमा डढेर बनेको कार्बनले क्यान्सर रोग लाग्न समेत मद्दत पु¥याउँदछ ।

यसको साथै हामीले यस्ता खानेकुराहरु तयार गर्दा प्रयोग गरिने आवश्यक कच्चा पदार्थहरु वा तयारी खाद्य परिकारहरु खरिद गर्दा समेत उतिकै ध्यान पु¥याउनु पर्दछ । यस्ता खाद्य परिकारहरु किन्दा खुला रुपमा विक्री वितरण गरिएको किन्नु हुदैन । प्याक गरेको, लेबलमा प्रष्ट रुपमा उत्पादकको नाम ठेगाना, उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर र समिश्रण उल्लेख भएको कच्चा पदार्थ वा तयारी खाद्य परिकार किनेमा मात्र अझ ठगिन साथै स्वस्थ्यमा पुर्याउने जोखिमबाट बच्न सकिन्छ ।

माघे संक्रान्तीमा खार्ईने माथि उल्लेख गरिएका खाद्य वस्तुहरु स्वास्थ्यका लागि लाभदायक भएपनि अधिक प्रयोग गर्नु हुंदैन । उमेर, शारिरीक अवस्था, रोग हेरेरमात्र चाडपर्वमा खाद्य पदार्थहरु उपयोग गर्नु बुद्धिमानी हुन्छ । साथै मधुमेह जस्ता रोगीहरुले चाडवर्पका यस्ता खानेकुराहरुमा बढि सावधानी अपनाउनु पर्दछ ।

अन्त्यमा सम्पूर्ण आम उपभोत्ताहरुलाई हामी सारा नेपालीको चाड माघे सक्रान्तीमा गुणस्तरीय खानेकुरा तयार गरी बिक्री वितरण, उपभोग गरौं र स्वस्थ्य जीवन जीउन आफू र आफ्नो आफन्तहरुलाई प्रेरित गरौं ।
(लेखिका लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्व महानिर्देशक हुन् )