आठ लाख बराबरका चल्ला बरामद

This post has already been read 122 times!

परासी : अवैधरुपमा भारतबाट नवलपरासी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कमाण्ड पोष्ट परासीको गस्ती टोलीले मंगलबार राति आठ लाख बराबरका कुखुराका चल्लालाई पक्राउ गरेको छ।

कमाण्ड पोष्टका सशस्त्र प्रहरी नायब उपरिक्षक खेम बहादुर थापाको नेतृत्वमा गएको गस्ती टोलीले भारतको ठुठिबारीबाट गोबरैयाको नाका भएर नवलपरासी ल्याइँदै गरेको अवस्थामा गएराती सरावलबाट पक्राउ गरेको हो। लु १ ज २४१४ नम्बरको जिपमा दशहजार चल्ला ल्याइएको थियो। चल्ला माकर गाविस बर्दंघाट बजारका विरेन्द्र श्रेष्ठको रहेको सशस्त्र प्रहरीले जनाएको छ।  यी चल्ला नेपालमा ८० रुपैयाँमा बिक्री हुन्छन्। भारतमा चल्लाको मूल्य ३० रुपैयाँ भारु पर्छ।

 

अवैधरुपमा भारतबाट नवलपरासी ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको कुखुराका चल्लालाई बुधवार परासीमा नष्ट गरिँदै। (तस्बीर: हरि शर्मा)कुखुराका चल्ला बोकेर आउदै गरेको उक्त जिपका ड्राइभर गस्ती टोलीलाई देखेर भागेको र बेबारिसे अवस्थामा रहेको चल्लालाई क्वारेन्टाइन चेकपोष्टको रोहबरमा आजै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक खेम बहादुर थापाले बताए। जिल्लामा करिब ३० भन्दा बढि ह्याचरी छन् भने अधिकांश ह्याचरीले नै त्यसरी भारतबाट कुखुराका चल्लाहरु ल्याउने गरेको पाइएको छ।

बर्डफ्लुका कारण नेपालमा प्रतिबन्धित गरिएको बोइलर कुखुरा र चल्ला पछिल्लोपटक जिल्लाको भुजहवा, गुठिप्रसौनी र रमपुरवाको नाकाबाट भित्रिने गरेपनि सीमा क्षेत्रमा रहेका सशस्त्र र नेपाल प्रहरीले वेवास्ता गर्ने गरेको साना कुखुरा व्यवसायीहरूको आरोप छ। भारतबाट साइकलमा सीमावर्ति नाकामा ल्याइने र त्यहाँबाट जिपहरूमा लोड गरेर नवलपरासीदेखि चितवनसम्म पुर्‍याउने गरेको नवलपरासी कुखुरा व्यवसायी संघका अध्यक्ष गणेश प्रसाद पाण्डेले बताए।

अन्नपूर्णबाट