उद्यमको उत्साह

यो समाचार 209 पटक पढिएको

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको हेलम्बु–१ स्थित मेलम्ची खोला किनारमा ६ वर्षअघि खुलेको हेलम्बु रेन्बो ट्राउट उत्पादन तथा अनुसन्धान केन्द्रले आउँदो वर्ष रु।१ करोडको कारोबार गर्दैछ। पोहोर हालिएका ३७ हजार ट्राउटबाट फागुन–चैतसम्ममा रु।७० लाख आम्दानी हुने केन्द्रको अनुमान छ। मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीले परीक्षणका लागि बनाएका ११ वटा पोखरीमा एक दर्जन रहरे लगानीकर्ताले गरेको ट्राउट पालनलाई अहिले काठमाडौंका ज्ञानेन्द्र कक्षपति, ग्याल्जेन शेर्पा र शरण चालिसेले २४ वटा ठूला पोखरी थपेर व्यावसायिक रूप दिएका छन्।

helaट्राउटको भुरा उत्पादन समेत थालेको केन्द्रको व्यवसाय वर्षेनि फस्टाउँदो छ। चार वर्षदेखि माछाको रेखदेख सम्हालेका दुर्य नेपाली केन्द्रले एक पटकमा एक हजार किलोसम्म ट्राउट आपूर्ति गर्ने क्षमता आर्जन गरेको बताउँछन्। देशमा शान्ति छाउने सम्भावना देखेर लगानीकर्ताहरूले पूँजी थप्दै लैजाँदा अहिलेको अवस्थामा पुगेको नेपालीले बताए। “यो वर्ष तीन लाख भुरा उत्पादन गर्ने लक्ष्य छ”, नेपालीले भने, “बन्द–हड्ताल रोकिएन भने चाहिं ती भुरा चाहेको ठाउँमा पुर्‍याउन सकिंदैन।”

दोस्रो संविधानसभा निर्वाचनअघि दलहरूले राजनीतिक माग पूरा गराउन सडक बन्द नगर्ने प्रतिबद्धता जनाएकोले उद्यमीहरू उत्साहित भएका छन्। मेलम्चीको चनौटे र ग्याल्थुङमा पनि व्यावसायिक ट्राउट फार्म विस्तार हुँदैछ। मेलम्ची क्षेत्रमा परम्परागत कृषि प्रणालीमा पनि आधुनिकता भित्रिएको छ। किसानहरू कृषि सहकारी संस्था मार्फत उत्पादन प्रवर्द्धनमा लागेका छन्। हेलम्बुको याङ्रीमा कृषि सहकारीमा आवद्ध किसानहरू उच्च पहाडमा हुने अलैंची लगायतका नगदे बाली विकासमा जुटेका छन्।

मेलम्ची अउलका किसानहरूले अन्न बालीमा नयाँ प्रयोग गर्न थालेका छन्। मल र बीउमा सचेतता अपनाउँदा तीन बाली हुन थालेको ग्याल्थुङका नेत्रप्रसाद खतिवडाले बताए। उनका अनुसार, खेतबारीमा कृषि श्रमिकको अभाव टार्न ट्रयाक्टर भित्र्याइएको छ। “सडक आएपछि गाउँमा ट्रयाक्टर भित्रियो, फलेको तरकारी तुरुन्तै काठमाडौं पुग्न थालेको छ”, खतिवडा भन्छन् “४र५ महीना खेतबारी बाँझो रहने दिन सकिए।”

सेवा व्यवसायमा समेत मेलम्ची क्षेत्रमा नयाँ–नयाँ योजनाहरू शुरू हुन लागेको छ। यस क्षेत्रका उद्यमीहरूले अहिलेको चुनावी परिणामबाट संविधान बन्ने आशा बढेको भन्दै थाती रहेका योजनाहरू अघि बढाउन थालेका छन्। मेलम्ची पुल बजारका गेष्टहाउस सञ्चालक भीमसेन डंगोल मेलम्ची दोभानमा रु।२ करोडको रिसोर्ट खोल्ने तरखरमा छन्। “सोच पुरानै हो”, डंगोल भन्छन्, “रिसोर्टका लागि पहिल्यै आठ रोपनी जग्गा किनेको थिएँ, तर देश अलमलमा फँस्दा काम अगाडि बढाउन सकेको थिइनँ।”

मेलम्ची खानेपानी आयोजनादेखि मेलम्ची घ्याङ, तार्के घ्याङ, ककनी र लाङटाङ राष्ट्रिय निकुञ्जसम्मका पर्यटकीय क्षेत्रको प्रवेशद्वार भएकाले पनि पुल बजारको रिसोर्ट चल्नेमा ढुक्क छन्, डंगोल। नेपालमा शान्ति छ भन्ने सन्देश जाने वित्तिकै यस भेगमा पर्यटकको ओइरो लाग्नेमा डंगोल आशावादी छन्। साँखु–मेलम्ची सडक खुलेपछि राजधानी र मेलम्चीको दूरी डेढ घण्टामा सीमित भइसकेको छ। मोटरसाइकलमा काठमाडौंबाट मेलम्ची घुम्न आउनेहरूको संख्या अहिले मनग्ये देखिन्छ।

अहिले मेलम्ची बजारमा एक दर्जन लजरगेष्टहाउस छन् भने हेलम्बुको टिम्बु बजारसम्ममा करीब डेढ दर्जन। दिगो शान्ति स्थापना भएपछि राजधानीका सरकारी र गैर–सरकारी कार्यालयहरूको सेमिनारस्थल मेलम्ची क्षेत्र हुने स्थानीय होटल व्यवसायीहरूको विश्वास छ। होटल मेलम्ची साइटका सञ्चालक तीर्थ लामा पहिले त्यस्तो क्षेत्र रहेको धुलिखेलको शहरीकरणले मेलम्चीलाई विकल्प बनाएको बताउँछन्। “राजनीतिक वातावरण बिग्रिएन भने भोलिको दिन हाम्रो हुनेछ”, लामा भन्छन्।

प्रभात भट्टराई, मेलम्ची

रचनात्मक प्रतिक्रिया दिनुहोस् :