सरकारले पेस गर्‍यो संशोधन विधेयक

This post has already been read 244 times!

काठमाडौं । व्यवस्थापिका संसद्‍को आइतबारको बैठकमा विपक्षी दलको विरोध तथा अवरोधबीच संविधान संशोधन सम्बन्धी विधेयक प्रस्तुत भएको छ।

विपक्षीको अवरोधका बीच कानुनमन्त्री अजयशंकर नायकले बैठकमा संविधान संशोधन प्रस्ताव सम्बन्धीको विधेयक प्रस्तुत गरेका हुन्। संसद्‍मा संशोधन विधेयकको कार्यसूची पेश भएपछि एमालेसहितका विपक्षी दलले उठेर विरोध गरेका थिए। कार्यसूचीको पहिलो नम्बरमा स्थानीय तह निर्वाचनसँग सम्बन्धित चारवटा विधेयक प्रस्तुत गर्ने उल्लेख रहे पनि सभामुखले बैठक सुरु हुनसाथ संविधान संशोधन विधेयकको कार्यसूचीलाई अगाडि बढाएकी थिइन्।

संविधान संशोधनमा विरोधको सूचना अस्वीकृत हुनसाथ कार्यसूचीको चौथो नम्बरमा रहेको संविधान संशोधन विधेयक पेस गर्न सभामुखले कानुनमन्त्री नायकलाई अनुमति दिएकी थिइन्। पहिले नै तयारी अवस्थामा बसेका कानुनमन्त्री नायक नाराबाजी र होहल्लाबीच नै सुटुक्क रोष्ट्रममा पुगेर विधेयक पेस गरेका थिए।विपक्षीहरुले सभामुखले कार्यसूचीलाई अगाडिपछाडि बनाएर झुक्काएको भन्दै आक्रोश पोखेका थिए।

सभामुख ओनसरी घर्ती मगरले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलले नाराबाजी समेत गरेका थिए। संशोधन प्रस्तावविरुद्ध विपक्षी दलका सांसद् प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना बहुमतले अस्वीकृत भएको घोषणा गर्दै सभामुखले संशोधन प्रस्ताव प्रस्तुत गर्न कानुनमन्त्री नायकलाई समय दिएकी थिइन् ।

बैठकमा स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक समेत प्रस्तुत भएको छ। संसद् बैठकमा संशोधन विधेयक प्रस्तुत गर्दै गर्दा एमालेसहितका विपक्षी दलले चर्को होहल्ला गरेका थिए । आइतबार व्यवस्थापिका संसद् सचिवालयले विरोधबीच बैठक चलाउने निर्णय गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका विपक्षी दलले मंसिर १५ देखि संसद् बैठक अबरुद्ध गर्दै आएका छन्।

सरकारले गत मंसिर १४ संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे पनि अहिलेसम्म त्यो संसद्‍मा प्रवेश हुन सकेको थिएन । विधेयक प्रस्तुत भए लगत्तै संसद्को अर्को बैठक सोमबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।