लोकमानसिंह कार्की अख्तियार प्रमुखबाट पदमुक्त

यो समाचार 336 पटक पढिएको

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की पदमुक्त भएको आइतबार फैसला सुनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्राई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको छ । कार्कीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज गर्ने सर्वोच्चको यसअघिको ओदश खारेज गर्दै आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०/२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’

२०७१ असोज ८ मा न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले राजप्रसाद सेवा समेत जोडेर कार्की नियुक्तिका लागि योग्य भएको फैसला सुनाएको थियो । सर्वोच्चले अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश दिएको छ ।