एमबीए तरकारी साहू

This post has already been read 137 times!

काठमाडौं, “व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका युवाहरू नोकरीको चक्करमा नलागी सोझै तरकारी बिक्री केन्द्र जस्तो सोचका साथ बजारमा आउनुले नेपाली कृषिको सम्भावना देखाउँछ।”

MBA VEDकाठमाडौंको एपेक्स कलेजबाट एमबीए गरेका भक्तपुर थिमीका सुशील अर्याल (२७) र रामराज आचार्य (२९) ले कालीमाटी तरकारी बजारको थोक र खुद्रा बजारको अस्वाभाविक मूल्य अन्तरमा स्व–व्यवसायको नयाँ सम्भावना देखे। त्यसपछि तरकारी र फलफूल सम्बन्धी वेबसाइटहरू नियाल्न थालेका यी तन्नेरीहरू वैशाख २०६९ बाट उपत्यकाका १० स्थानमा व्यवस्थित तरकारी पसल सञ्चालन गरिरहेका छन्, २५ जनालाई रोजगारी समेत दिएर।सुशील र रामराजको नेपाल करेसाबारी एण्ड रिसर्च सेन्टर प्रालिमा अहिले पूर्णबहादुर पाल्पाली (२८) र किशोर आचार्य (२८) पनि थपिएका छन्। उनीहरूले काम थालेको एक वर्षमा शहरमा उस्तै–उस्तै नाम राखेर तरकारी बेच्ने अरू पनि देखिएका छन्। यसरी शहरमा प्रेरणाको स्रोत हुन पाउँदा दंग परेका उनीहरू कृषि व्यापारमा अरू थुप्रै अवसर रहेको बताउँछन्। जस्तो, निश्चित रोग र उमेर समूहलाई हेरेर पोषिलो खाद्य पदार्थको सम्मिश्रण उत्पादन गरेर हर्लिक्स, भिभा आदिलाई प्रतिस्थापन गर्ने, आन्तरिक र बाह्य बजारसँग समन्वय गरेर कृषि उद्योग खोल्ने आदि।

कठिनाई काम थाल्नुमा छ। रु.२–२ लाख उठाएर काम थालेका सुशील र रामराजलाई शुरूमा घरपरिवार र आफन्तहरूले त्यत्रो पढेर तरकारी व्यवसायमा लाग्ने भनेर असहयोग गरे। त्यसकारण उनीहरू युवा तथा साना व्यवसायी स्वरोजगार कोषप्रति कृतज्ञ छन्, जसले पूँजी चाहिएको वेला दुई जनालाई दुई–दुई लाख रुपैयाँ दिएको थियो। उनीहरू अहिले कोषको लागि पनि राम्रो उदाहरण बनेका छन्।

सुशील, रामराज, पूर्णबहादुर र किशोर अहिले सिजनमा दैनिक रु.१ लाखको पाँच टन तरकारी कारोबार गर्छन्। नेपाली उपभोक्तामा रहेको यस्ता बिक्री केन्द्रमा भन्दा खुला ठाउँमा तरकारी सस्तो हुने मानसिकताका कारण शुरूमा केही कठिनाई बेहोरेका उनीहरूले मूल्य र तौलप्रति उपभोक्ता सचेत बन्दै जाँदा व्यवसाय बढेको अनुभव गरेका छन्। उनीहरूले तरकारीको आपूर्ति स्रोत किसानलाई नै बनाएका छन्, जसले गर्दा उपभोक्ताले तिरेको मोल धेरै विचौलियाको गोजीमा पुग्दैन।

“हामी तरकारी टिपेको १२ घण्टाभित्र उपभोक्ताको झोलासम्म पुर्‍याउँछौं”, सुशील भन्छन्, “किसान र उपभोक्तालाई अधिकतम फाइदा पुर्‍याउने हाम्रो उद्देश्य हो।” तरकारी जस्तो नाशवान उत्पादनलाई खुला ठाउँबाट नभएर सुरक्षित स्थानमा बिक्री गर्नुपर्ने मान्यतालाई कार्यान्वयन गरेका उनीहरू केही वर्षभित्रैमा देशका अरू प्रमुख शहरमा यस्तो ‘मार्केट चेन’ स्थापना गर्ने सुरमा छन्। साथै, तरकारी कारोबारलाई ‘कर्पोरेट’ प्रणालीमा लगेर सरकारलाई राजस्व तिर्ने र शिक्षित युवालाई स्वरोजगार बनाउने उनीहरूको संकल्प छ।
-तुलसी गौतम