आउँदैछ बर्डफ्लु मौसम

यो समाचार 215 पटक पढिएको

२३ पुस\ ५ महिनाअघि बर्डफ्लुले महामारीको रूप लिएपछि त्रस्त उपभोक्ताले भर्खरैदेखि ढुक्कसँग मासु र अण्डा उपभोग गर्न थाले पनि सरकारले सचेत रहन आह्वान गरेको छ । जाडो मौसममा बर्डफ्लुका किटाणु सक्रिय हुने भएकाले अहिलेदेखि नै सचेत रहन सरकारले आग्रह गरेको हो । अबका २ महिना कुखुरा उत्पादक, ढुवानीकर्ता र उपभोक्ता सबैले होसियारी अपनाउनुपर्नेछ ।

bbbbb

०६५ सालदेखि बर्सेनि जोडोमा बर्डफ्लु संक्रमण फैलिरहेकाले माघ र फागुनमा विशेष सतर्क रहन सरकारले सरोकारवालालाई औपचारिक रूपमै भनेको हो । “त्यसो त यसपटक गर्मीमै संक्रमण देखियो, कारणबारे अनुसन्धान भइरहेको छ,” मध्यमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक डा। दामोदर सेढाईंले भने, “गर्मीमा त भेटियो भने जाडोमा जतिबेला पनि भेटिन सक्छ ।”

सरकारले माघ र फागुनलाई बर्डफ्लुको उच्च जोखिम महिना घोषणा गर्दै सतर्कता बढाएको जुनोसिस नियन्त्रण आयोजनाले जनाएको छ । कृषि विकास मन्त्रालयको पशु सेवा विभागअन्तर्गत यो आयोजनाले बर्डफ्लुलगायत पशुपंक्षीबाट मानिसमा सर्ने रोगसम्बन्धी कार्यक्रम गर्छ ।

“जुनोसिस, पशु स्वास्थ्य निर्देशनालय, क्षेत्रीय पशु सेवा निर्देशनालय र जिल्लास्थित पशु कार्यालय सबैलाई सतर्क हुन निर्देशन दिइएको छ,” विभागका उपमहानिर्देशक उदयचन्द्र ठाकुरले भने, “जतिबेला जहाँ संक्रमण भेटिन्छ, नियन्त्रणका लागि तत्काल प्राविधिक टोली खटाउने व्यवस्था गरिसकेका छौं ।” सरकारी निकायहरू नियन्त्रणका लागि सतर्क रहेको उनको दाबी छ ।
विभाग र मातहतका निकायले विशेषगरी सिमसार क्षेत्र, हाटबजार, मासुबजार, पंक्षी सघनता भएका क्षेत्र र नाकामा विशेष निगरानी बढाइएको बताएका छन् । पछिल्लो समय सबैभन्दा बढी भक्तपुर, काठमाडौं, काभ्रे र ललितपुरलगायत मध्यमाञ्चलका जिल्लामा बढी जोखिम भएकाले सबैजसो जिल्लामा निगरानी जारी राखिएको निर्देशक सेढाईंले बताए ।

“अहिले कतै पनि संक्रमण नदेखिएकाले पटके निरीक्षणमात्र गरिरहेका छौं,” उनले भने, “कतै फेला परेमा रातदिन खटेर भए पनि नियन्त्रण गर्न हामी पूर्ण रूपमा सतर्क छौं ।”
५ वर्षअघि झापाको मेचीनगरमा पहिलो पटक देखिएको बर्डफ्लु हालसम्म देशभर २ सय २५ पटक फेला परिसकेको छ । यसको संक्रमणका कारण हालसम्म २० लाख कुखुरा तथा चल्ला, ३० लाख अन्डा, २ लाख किलो दाना र साढे १ लाख किलो मासु सरकारी निगरानीमै नष्ट गरिएको छ । यसबाहेक पनि करोडौं रकमबराबरको प्रत्यक्ष÷अप्रत्यक्ष क्षति भएको भन्दै नयाँ मापदण्ड तयार गरी व्यवसाय पुनस्र्थापनाका लागि काम गर्न उत्पादक कृषकले माग गर्दै आएका छन् ।
भक्तपुरलगायत देशभर बर्डफ्लुबाट भएको क्षतिबारे छानबिन गरी क्षतिपूर्तिका नयाँ मापदण्ड कायम गर्न गठित समितिले प्रतिवेदन बुझाइसके पनि सरकारले निर्णय गरेको छैन । “हामीले प्रतिवेदन तयार गरी कृषि मन्त्रालयमा बुझाइसकेका छौंं,” छानबिन समितिका संयोजक डा। दिनेश पराजुलीले भने, “प्रतिवेदन कृषिबाट अर्थ मन्त्रालय पुगेको छ, अर्थले स्वीकृति दिई सरकारले पास गरेमात्र नयाँ मापदण्ड लागू हुन्छ ।” नयाँ मापदण्ड नआए पनि पुरानै मापदण्डअनुसार सरकारले क्षर्तिपूर्ति वितरण गर्न २३ करोड रकम निकासा गरिसकेको छ ।

प्रतिबन्ध फुकवा
बर्डफ्लु संक्रमण बढेपछि सरकारले नियन्त्रणका लागि गरेको संक्रमणग्रस्त क्षेत्र घोषणा फुकवा गरेको छ । बर्डफ्लु नियन्त्रण संशोधनसहित आदेश २०६४ को दफा ५ को उपदफा १ बमोजिम विभिन्न मितिमा बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा सोही आदेशको दफा १० बमोजिम पुस ३ देखि लागू हुने गरी फुकुवा गरिएको हो ।
संक्रमणग्रस्त क्षेत्रमा तोकिएको मितिसम्म पंक्षी तथा पंक्षीजन्य पदार्थ ओसारपसार गर्न पाइँदैन । यो व्यवस्थाअनुसार बर्डफ्लु संक्रमित फार्ममा कम्तीमा ३ महिनासम्म पुनः कुखुरापालन गर्न पाइँदैन । सरकारले साउनयता उपत्यकाका ३ जिल्लासहित काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, कास्की, नवपरासी र रुपन्देहीलगायतलाई संक्रमणग्रस्त क्षेत्र घोषणा गरी ओसारपसार तथा पालनमा रोक लगाएको थियो ।
यो फुकुवासँगै कृषकहरूले पुनः कुखुरापालन गर्न पाउने भएका छन् । ३ साताअघि फुकुवा गरिए पनि मंगलबारमात्र सरकारी अधिकारीले फुकुवाबारे सार्वजनिक जानकारी दिएका हुन् । कृषि विकास मन्त्रालयले पत्रकार सम्मेलन गरी फुकुवासम्बन्धी घोषणा गर्ने कार्यक्रम तय भए पनि अहिलेसम्म गरेको छैन । मंगलबार जुनोसिस नियन्त्रण आयोजनाद्वारा आयोजित कार्यक्रममा मात्र पत्रकारलाई उत्तर दिँदै सरकारी अधिकारीले फुकुवाको जानकारी गराएका हुन् ।
कारोबारबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :