पन्छी फार्मका लागि निर्देशिका

यो समाचार 172 पटक पढिएको

काठमाडौं : पन्छीसम्बन्धी फार्म सञ्चालन गर्न अब सरकारको अनुमति लिनुपर्ने भएको छ। सरकारले पन्छी फार्म तथा ह्याचरी सञ्चालनसम्बन्धी निर्देशिका मार्फत सरकारको अनुमतिबिना पन्छीसम्बन्धी व्यवसाय, उत्पादन तथा बिक्रीवितरण गर्न नपाइने व्यवस्था गर्न लागेको हो।

2ChickenFamilyहालसम्म नेपालमा यससम्बन्धमा निर्देशिका नहुँदा आफूखुसी जोसुकैले पनि पन्छीपालन, व्यवसाय तथा बिक्रीवितरण गर्दै आएका थिए। पशुसेवा विभागका उपमहानिर्देशक उदयचन्द्र ठाकुरका अनुसार पछिल्लो समयमा वर्डफ्लुका कारण राज्य, किसान तथा व्यवसायीको निक्कै ठूलो क्षति भएकाले व्यवसाय प्रवर्द्धन गर्न तथा रोग नियन्त्रणका लागि यस प्रकारको निर्देशिका ल्याउने तयारी गरिएको हो।

निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरेर अहिले विभिन्न सरोकारवाला निकायलाई उपलब्ध गराइएको छ। सरोकारवाला निकायले उपलब्ध गराउने सुझाउको आधारमा मस्यौदालाई अन्तिम रूप दिएर स्वीकृतका लागि कृषि विकास मन्त्रालयसमक्ष पठाइनेछ।

व्यावसायिक पन्छी फार्म तथा ह्याचरीबाट स्वस्थ र गुणस्तरीय पन्छी तथा पन्छीजन्य पदार्थको उत्पादन र उत्पादकत्व तथा फार्म र ह्याचरीलाई संक्रामक रोगबाट मुक्त राखेर व्यवसाय प्रवर्द्धन तथा जनस्वास्थ्य र वातावरणको संरक्षण गर्न यो निर्देशिका ल्याउन लागिएको हो। पशुसेवा ऐन २०५५ को भावनाअनुसार उक्त निर्देशिका ल्याउन लागिएको उपमहानिर्देशक ठाकुरले जानकारी दिए।

प्रस्तावित निर्देशिकाले व्यावसायिक रूपमा स्थापना भएका वा ग्रान्ड प्यारेन्ट फार्म, ह्याचरी तथा ब्रिडिङ फार्म, ब्रोइलर फार्म र व्यावसायिक रूपमा सञ्चालन गरिएका अन्य फार्मलाई व्यावसायिक पन्छी फार्म भनिने उल्लेख गरेको छ। कुखुरा, हाँस, बट्टाई, लौकाट, टर्की, अस्ट्रिचलगायतका घरपालुवा चरालाई पन्छी को रूपमा उक्त निर्देशिकाले परिभाषित गरेको छ। यस्ता पन्छीजन्य उत्पादन गर्नुपूर्व निर्देशिका लागू भएपछि सरकारको अनुमति अनिवार्य बनाइनेछ।

‘व्यावसायिक रूपमा अन्डा, चल्ला, ह्याचिङ अन्डा, पन्छीलगायत वितरण गर्न चाहने उद्योग, फार्म र व्यक्तिले अनिवार्य रूपमा जिल्ला पशुसेवा कार्यालयबाट अनुमति लिनुपर्नेछ’, ठाकुरले भने, ‘अनुमति लिंदा व्यावसायिक ब्रिडिङ फार्म, ग्रान्ड प्यारेन्ट फार्म, ह्याचरी उद्योग र २० हजारभन्दा बढी र कम पन्छी पाल्ने फार्मले निर्देशिकाबमोजिम छुट्टाछुट्टै रूपमा स्वीकृत लिनुपर्नेछ।

उत्पादित चल्ला, ह्याचिङ र पन्छी फार्मका उत्पादन सोझै खरिद गरेर पुन: बिक्रीवितरण गर्न चाहने उद्योग, फार्म र व्यक्तिलेसमेत पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था गर्न लागेका छौं।’ उनका अनुसार दर्ताका लागि निवेदन दिएपछि आवश्यक जाँचबुझपश्चात् मात्र अनुमति दिइनेछ।

प्रस्तावित मस्यौदाले सञ्चालनमा रहेका व्यावसायिक ब्रिडिङ फार्म, ग्रान्ड प्यारेन्ट फार्म, ह्याचरी उद्योग तथा २० हजारभन्दा बढी पन्छी पाल्ने फार्मको कम्तीमा वर्षको एक पटक अनुगमन गर्ने व्यवस्था गर्ने भएको छ। यसका साथै हाल घनाबस्तीमै गरिने पन्छी पालनलाई पनि यो निर्देशिकाले नियन्त्रणमा ल्याउने विश्वास लिइएको छ।

निर्देशिकाले घना मानवबस्ती अर्थात् १५ घरधुरी नजिकको क्षेत्रमा पन्छीपालन व्यवसाय गर्न नपाउने व्यवस्था गर्दै पन्छी खोरनजिक मानिस बस्न नहुने कडा नीति ल्याउन लागेको छ।

अन्नपूर्ण पोष्टबाट