राष्ट्रपतिको पुनः निर्वाचन गर्न एमाले र एमाओवादी सहमत

यो समाचार 98 पटक पढिएको

तपाईहरु मिलेर चलाउनुस्, हामी बाहिर बस्छौं-माओवादी

 काठमाडौं, २१ पुस । नेकपा एमाले र एकीकृत नेकपा माओवादी राष्ट्रपतिको पुनः निर्वाचन गर्न सहमत भएका छन् । तर, संविधानसभाको बैठक आहृवान कसले गर्ने भन्ने विवाद टुङ्ग्याउँदा राष्ट्रपतिको चुनावबारे पनि टुङ्गो लगाउनु पर्ने एमालेको शर्त छ भने एमाओवादी दुबैलाई अलग अलग रुपमा हेर्नु पर्ने बताएको छ ।

UML-MAO

 

शान्ति कोषको सचिवालय बबरमहलमा आइतबार दिउँसो बसेको एमाले र एमाओवादी शीर्ष नेताहरुको बैठकमा संविधानसभा बैठक आहृवान, राष्ट्रपति चयन र संविधान निर्माणबारे छलफल भएको थियो । ‘यो छलफल प्रारम्भ मात्र हो’ एमाले नेता अग्नी खरेलले अनलाइनखबरसँग भने-’राष्ट्रपति सम्वन्धी व्यवस्था र संविधानसभाको बैठक कसले बोलाउने भन्नेबारेमा पनि कुराकानी भएको छ ।’

शीर्ष नेताहरुको बैठकमा एमाले र माओवादी राष्ट्रपतिको पुनः निर्वाचन गर्न सहमत भएका छन् । ‘राष्ट्रपतिको निर्वाचन नहुँदा कहिलेसम्म यसरी नै जाने हो ? भन्ने उहाँहरुका पनि छ’ खरेलले भने । राष्ट्रपतिको पुनः निर्वाचन गर्न सहमत भएको माओवादीले संविधानसभाको बैठक आहृवान कसले गर्ने भन्ने विवाद टुङ्ग्याउँदा राष्ट्रपतिको चुनावबारे पनि टुङ्गो लगाउनु पर्ने एमालेको शर्त भने मानेको छैन । उसले राष्ट्रपतिको चुनाव र संविधानसभा बैठक आहृवानलाई अलग अलग रुपमा हेर्नु पर्ने बताएको छ ।

संविधानसभाको बैठक नेताहरुले कसले आहृवान गर्ने भन्ने बहस गरिरहनु लाजमर्दो अवस्था भएको भन्दै दुबै दलका नेताहरुले यसबारे थप छलफल नगर्ने बताएका छन् ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउः माओवादी

एमाले र एमाओवादीबीच सरकार गठनबारे छलफल भएपनि कुनै सहमति हुन सकेन । माओवादी नेता नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने ‘तपाईहरु (कांग्रेस र एमाले) मिलेर चलाउनुस, हामी बाहिर बस्छौं भनेका छौं ।’ तर, एमाले नेता खरेलले भने माओवादीले सैद्धान्तिक रुपमा प्रतिपक्षमा बस्नुपर्छ भने पनि सरकारले आउन्नौं नभनेको बताए ।

यसअघिका सहमतिलाई कसरी स्वामित्व लिने ?

एमाले र माओवादीबीच अघिल्लो संविधानसभामा गरेका सहमतिको स्वामित्व दिने विधि र प्रक्रियाबारे तत्काल छलफल थाल्ने सहमति भएको छ । साथै एक वर्षभित्र संविधान जारी गर्न मतभेदका विषयहरुमा समेत छलफल थाल्नु पर्नेमा दुबै दल सहमत छन् ।

बैठकमा एमाओवादीका नेताहरुले दलहरुले ६ महिनाभित्र स्थानीय निकायको चुनाव गर्ने बताएपनि एक वर्षभित्र संविधान जारी गर्ने हो भने संभव नहुने संकेत गरेका छन् । वामपन्थीहरुको सम्वन्ध दिर्घकालीन बनाउनु पर्ने भएपनि कांग्रेसलाई गलत सन्देश दिन हुँदैन भन्नेमा दुबै दल सहमत रहेको नेताहरुले बताएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :