बोट मर्ने रोगले सुन्तला बगैचा स्वाहा

यो समाचार 256 पटक पढिएको

पोखरा, भरतपोखरी-२ का शिवराज भण्डारीले तीन बर्षअघि सुन्तला बिक्रीबाट साढे तीन लाख रुपैयाँ कमाउँथे । अघिल्लो वर्ष दुई लाखमा झर्‍यो । ‘अहिले मुस्किलले एक लाख रुपैयाँमात्रै भयो,’ भण्डारीले भने, ‘सुन्तलाको बोट मर्ने रोग लागेकाले यस्तो भएको हो ।’ १० रोपनीमा सुन्तला खेती गर्दै आएका उनीबगैंचा रित्तिँदै गएपछि मौरीपालनमा लागेका छन् । चार बर्षअघिसम्म सुन्तलाबाटै ४ लाख रुपैयाँ कमाउने हंसपुर सिम्लेस्वाँराका बलबहादुर श्रेष्ठको ७ सय बोटको बगैंचा सखाप भएको छ । ‘आम्दानीको स्रोत सुकेको मात्र छैन,’ २५ वर्षदेखि सुन्तला खेतीमा सक्रिय श्रेष्ठले भने, ‘खान पनि किन्नुपर्ने अवस्था आइलाग्यो ।’
sun
कास्कीमा सुन्तलामा सिट्रस गि्रनिङ, जरा कुहिने रोग तथा खाद्यतत्त्वको अभावजस्ता कारणले बोट मर्ने रोगको प्रकोप फैलिएको छ । यसले किसान पलायन हुनुपर्ने अवस्थामा पुगेका छन् । यहाँको सुन्तलामा उपचारै नहुने ब्याक्टेरियाबाट हुने सिट्रस गि्रनिङकै प्रकोप बढी रहेको र यसबाट करिब ५ सय व्यावसायिक किसान मारमा परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पकेट क्षेत्र रहेका हंसपुर, थुम्की, रूपाकोट, कालीका, भरतपोखरी, निर्मलपोखरी, कृस्तिनाच्नेचौर, पुम्दीभुम्दी र सल्यानलगायतका स्थानमा प्रकोप फैलिइसकेको छ । जिल्ला सुन्तला उत्पादक संघका अध्यक्ष धर्मराज न्यौपानेले सुन्तला उत्पादनमा आएको ह्रासले किसानलाई रुनु न हाँस्नु बनाएको बताए । ‘जिल्लाभरकै सुन्तला धराशयी हुँदै गएको छ,’ न्यौपानेले भने, ‘सरकारले सुन्तला बचाउन प्रभावकारी सम्बोधन नगरे पलायनको विकल्प छैन ।’ उनले जिल्लामा २५ करोडसम्म सुन्तला बिक्री हुँदै आएकोमा अहिले एक चौथाइमा सीमित भइसकेको बताए । दुई वर्षअघि ६ लाख रुपैयाँको सुन्तला बेचेका उनले अहिले ३ लाख रुपैयाँ पनि नपरेको बताए ।

बागबानी विकास अधिकृत मनहर कडरियाले बर्सेनि १० प्रतिशतभन्दा बढीका दरले सुन्तलाको उत्पादन घटिरहेको बताए । किसानले बगैंचाको हेरचाह, काँटछाँट, मलजल नगर्ने, कतै पानी जम्ने, कतै सिंचाइ नपुग्ने, टिप्ने तरिका सही नहुनेजस्ता कारणले प्रकोप बढेको उनको भनाई छ । हंसपुरमा ७ करोड रुपैयाँसम्मको सुन्तला बिक्री हुने गरेकोमा अहिले ९० प्रतिशत र सबैभन्दा बढी १ सय ४० हेक्टरमा सुन्तला खेती हुने भरतपोखरीमा ५० प्रतिशत बोट सखाप भइसकेको उनले बताए ।

समस्या समाधानका लागि सरकारले कास्कीसहित ८ जिल्लामा सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ । हालको समस्यालाई व्यवस्थापन गर्ने उद्देश्यसहित व्यावसायिक सुन्तला उत्पादन, उत्पादकत्व, क्षेत्रफल र गुणस्तरमा वृपद्ध, बजारीकरणमा सघाउनेजस्ता विषयमा कार्यक्रमले समेटेको छ । ८ सय ४० हेक्टरमा सुन्तला खेती हुँदै आएको कास्कीमा आव २०६८/०६९ मा ७ हजार ४० मेटि्रक टन उत्पादन भएको थियो । गत वर्ष ६ हजार ७ सय २० मेटि्रक टनमा झरेकोमा अहिले पनि २ सय ५० मेटन उत्पादन घटेको कार्यालयले जनाएको छ ।

– लालप्रसाद शर्मा, वसन्ती बास्तोला

रचनात्मक प्रतिक्रिया दिनुहोस् :