फलफूलखेतीको जोखीम न्यूनीकरणका लागि बीमा

यो समाचार 167 पटक पढिएको

काठमाडौं । फलफूलखेती आयआर्जनको गतिलो स्रोतमात्र होइन, बहुआयामिक व्यवसायकै रूपमा विकास हुँदै गएको छ । तर, यसमा निहित जोखीम न्यूनीकरणको विषय पनि उत्तिकै महत्वपूर्ण छ । यदि फलफूलखेतीको जोखीम न्यूनीकरणको उपायबारे सोचिरहनुभएको छ भने नेपालका निर्जीवन बीमा कम्पनीहरूले सञ्चालनमा ल्याएको ‘फलफूलखेती बीमालेख’ योजना तपाईंका लागि सहयोगी हुन सक्छ । यस बीमालेख गत आर्थिक वर्षदेखि शुरू भएको हो । यसले फलफूलखेतीमा आगलागी चट्याङ, भूकम्प, बाढीपहिरो, आँधीबेहरी, असिना, हिउँ वा तुसारो आदिका कारण हुन सक्ने जोखीमको वहन गर्छ । साथै, आकस्मिक दुर्घटनालगायत बा≈य कारण र कीरा तथा रोगबाट हुने हानिनोक्सानीको समेत जोखीम वहन हुन्छ ।

Suntala
फलफूलको बीमा गर्दा प्रतिवर्ष बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था छ । यस बीमालेखमा बीमितलाई बीमाशुल्कको ५० प्रतिशत सरकारले अनुदान दिँदै आएको छ । फलफूल व्यवसायसम्बन्धी संस्थाको सदस्य भएको र सोही संस्थामार्फत बीमा गर्न आएमा बीमाशुल्कको थप १५ प्रतिशतसम्म छूट पाउने व्यवस्था पनि छ ।

क्षति भएको ९० प्रतिशत बीमा कम्पनीले र १० प्रतिशत बीमित स्वयम्ले जोखीम लिनुपर्छ । बीमितले क्षति भएको ३ दिनभित्र बीमा कम्पनीलाई लिखित जानकारी दिनुपर्छ । त्यस्तो जानकारी प्राप्त गरेको ४८ घण्टाभित्र बीमकले हानिनोक्सानीको निरीक्षण गर्ने भएकाले सो स्थानलाई यथा अवस्थामा राख्नुपर्ने कानूनी व्यवस्था छ । बीमितले क्षति भएको १५ दिनभित्रै प्रस्ताव फारममा उल्लेख गरेबमोजिम कागजात पेश गरिसक्नुपर्छ । प्रस्ताव फारममा उल्लेख गरिएका कागजातहरूमा संलग्न बीमालेख, क्षति भएको विवरण भरिएको दाबी फारम, प्राविधिकको प्रतिवेदनलगात आवश्यक पर्छ ।

फलफूलखेतीको धनी वा परिवारको लापरबाहीका कारण वा जानाजान क्षति भएमा दाबीको भुक्तानी कम्पनीले दिनेछैन । फलफूल चोरी भएमा र सरकारी निकाय वा मान्यताप्राप्त कानूनी निकायको आदेशमा फलफूललाई नष्ट गनुपर्ने भएमा पनि बीमितले कम्पनीबाट दाबीको भुक्तानी पाउनेछैनन् । फलफूलखेती गर्ने व्यक्तिले प्रस्ताव फारममा झुटा विवरण दिएमा पनिकम्पनीले दाबीको भुक्तानी दिनेछैन । त्यसैले, बीमितले आर्थिक लाभ लिने मनसायले झुटा विवरण भर्नुहुँदैन ।

फलफूलखेतीमा रोग वा करिा लागेमा बीमितले आफ्नै खर्चमा तत्काल उपाचार गराउनुपर्छ । बीमा गरेको छ भन्दै उपचार गर्न ढिलाइ गरी आर्थिक क्षति बढाउनुहुँदैन । बीमक जुनसुकै समयमा फलफूलखेतीको परीक्षण गर्न आउने भएकाले पनि रोग वा कीरा लागेको थाहा हुनासाथ उपाचार गर्नुपर्छ । बीमा गरेपछि आवश्यक नलागेमा फलफूलधनीले सो बीमालेख रद्ध गर्न पनि सक्नेछन् । बीमा गरेको २ महीनाभित्र बीमालेख रद्ध गरेमा वार्षिक बीमाशुल्कमा कट्टी गरी बाँकी बीमाशुल्क रकम ३० प्रतिशत फिर्ता पाउने व्यवस्था छ । यस्तो रकम ८ महीनाभन्दा बढीको फिर्ता गर्नुपरेमा सय प्रतिशतसम्म फिर्ता हुन्छ । तर, दाबीको भुक्तानी लिएको अवस्थामा बीमाशुल्क फिर्ता हुँदैन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :