४९ प्रतिशत कृषक अझै बजार पहुँचबाहिर

यो समाचार 275 पटक पढिएको

काठमाडौं । सरकारले विभिन्न क्षेत्रमा कृषिबजार स्थापना गरिसकेको बताए पनि अझै ४९ प्रतिशत कृषक बजार पहुँचबाहिर रहेका छन् । नेपालमा कुल ३८ लाख ३१ हजार परिवारमध्ये १८ लाख ७४ हजार बजार पहुँचबाहिर रहेको केन्द्रीय तथ्याङ्क विभागको कृषि गणनाले देखाएको छ । गणनाअनुसार ती कृषक परिवारले बजार पुग्न १ घण्टा वा सोभन्दा बढी समय खर्चिनुपर्छ । तथ्याङ्कअनुसार उत्पादन क्षेत्रबाट १ घण्टाभित्र कृषिबजारसम्म उत्पादित सामग्री पुर्‍याउने कृषक परिवारको सङ्ख्या १९ लाख ५६ हजार रहेको छ । यसभन्दा बाहेकका कृषकले उत्पादन गरेको सामग्री विक्रीका लागि २ घण्टादेखि ३ घण्टासम्म हिँडेर जानुपर्छ ।Market


 तथ्याङ्कअनुसार आफ्नो जग्गामा खेती गर्ने कृषक सङ्ख्या ३७ लाख १५ हजार ५ सय ५५ परिवार रहेको छ । त्यसैगरी अर्काको जग्गामा खेती गर्नेको सङ्ख्या १ लाख १५ हजार ५ सय ३८ परिवार रहेको छ । आफ्नो जग्गामा खेती गर्ने कृषकले क्रमशः २५ लाख २२ हजार ५ सय १९ दशमलव ९ हेक्टर क्षेत्रफल खेती गर्दै आएका छन् । त्यस्तै, जग्गा नहुने कृषकले ३ हजार १ सय १९ हेक्टर क्षेत्रफलमा खेती गर्दै आएको बताइएको छ । उत्पादित कृषिउपज सहजै विक्री गर्ने जग्गाधनी कृषकको सङ्ख्या ३ लाख २९ हजार ३ सय ५३ परिवार रहेको छ ।

यस्तै कृषिउपज विक्रीका लागि आधा घण्टासम्म बजार पुग्ने जग्गाधनी कृषकको सङ्ख्या ७ लाख ५३ हजार १ सय ३५ परिवार रहेको छ । तर, अर्काको जग्गामा खेती गरी कृषि उपज विक्री गर्नेको सङ्ख्या ३५ हजार ७ सय २५ परिवार रहेको छ । ३० मिनेटदेखि १ घण्टासम्म कृषि उपज विक्री गर्नका लागि बजार पुग्ने जग्गाधनी कृषकको सङ्ख्या ७ लाख ९२ हजार ५ सय १० परिवार रहेको छ भने अर्काको जग्गामा खेती गर्ने कृषक सङ्ख्या २८ हजार १ सय ६९ छ । कृषि उपज विक्रीका लागि १ देखि २ घण्टा समय लाग्ने जग्गाधनी कृषकको सङ्ख्या ९ लाख २६ हजार ६ सय ५० र अर्काको जग्गामा खेती गर्ने कृषकको सङ्ख्या २५ हजार ४ सय ९४ रहेको छ ।
‘जग्गासहितको आफ्नो कृषिउपज विक्रीका लागि २ देखि ३ घण्टा समय बजार पुग्न लाग्ने कृषकको सङ्ख्या ४ लाख १४ हजार ८ सय ९९ रहेको छ,’ तथ्याङ्कमा भनिएको छ । यस्तै अर्काको जग्गामा खेती गरी उत्पादन गरेको कृषिउपज विक्री गर्न २ देखि ३ घण्टासम्म लाग्ने कृषकको सङ्ख्या ५ हजार ३ सय ९९ रहेको छ । त्यसैगरी, उत्पादित कृषिवस्तु विक्रीका लागि ३ घण्टाभन्दा माथि बजार पुग्न लाग्ने जग्गाधनी कृषकको सङ्ख्या ४ लाख ९९ हजार ९ परिवार र जग्गा नभएका कृषकको सङ्ख्या ३ हजार २४ परिवार रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :