खाद्य स्वच्छता तथा पोषण

यो समाचार 542 पटक पढिएको

सन्दर्भः छैठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७०

 

JIwan Prava Lama
जीवन प्रभा लामा
महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

विगतका बर्षहरुमा झैं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो वर्ष छैंठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस सप्ताह व्यापी रुपमा विभिन्न कार्यकमहरुको आयोजना गरि मनाउने तयारी गरि रहेको छ । यस पटकको मुल नारा भने “स्वच्छ खाना ः सबैको चाहना” रहेको छ । खाद्य पदार्थको सम्पुर्णता यसको भौतिक, रसायनिक, जैविक तथा खाद्य वस्तुहरुको पौष्टिक गुणहरुको आधारमा निर्धारण हुन्छ । भोजन भन्दैमा यसको उपभोगले गर्दा शरीरको लागि आवश्यक सबै पौष्टिक तत्वहरु प्राप्त हुन्छन भन्ने छैन । उदाहरणको लागि एउटा खाद्य पदार्थमा कुनै एक तत्वको आधिक्यताले गर्दा शरीरमा अरु आवश्यक तत्वहरु पनि प्राप्त भई हाल्छ भन्ने अवस्था रहदैन, सन्तुलित अहारमा सम्पुर्ण पौष्टिक तत्वहरु शरीरमा उपलब्ध हुने हुनाले शरीर स्वस्थ्य हुने हुन्छ । सन्तुलित खाना प्रदुषित भएमा शरिरमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

हरेक मानिसले पर्याप्त मात्रामा स्वच्छ र सफा खाद्य पदार्थ खान पाउनु उसको मौलिक अधिकार हो जसको प्रत्याभुति राज्यले आफनो विभिन्न अङ्गहरु मार्फत गर्छ । यस्तो जिम्मेवारी पाएका निकाय मध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरोकारवाला सबै सरकारी, निजी, गैर सरकारी संस्थाहरु र नागरिक समाज बिचको आपसी समन्वय तथा सहकार्यमा वहन गर्दै आएको छ ।

विज्ञान तथा प्रविधिमा विश्व भरि निरन्तर रुपमा भई रहको विकास, मानिसको व्यस्त जीवन शैली, मानिसहरुको बदलिंदो खाने बानी, विभिन्न प्रकारका खाद्य पदार्थहरुको चाहना, बढ्दो क्रय शक्ति आदि कारणले गर्दा खाद्य वस्तुहरुको विभिन्न परिकार तथा गुणस्तरमा परिवर्तन आईरहेको अवस्था छ । यसको असर हाम्रो देशमा पनि पर्नु स्वभाविक रहेको तथा खाद्य पदार्थहरुको आवश्यकता परिपुर्ती गर्न खाद्य उद्योगहरुले विभिन्न खालका उत्पादनहरु बजारमा ल्याएका छन् । यसरी उत्पादित खाद्य वस्तहरुको गुणस्तरमाथि बेला बखतमा प्रश्न चिन्ह उठ्ने गरेको छ । त्यसै गरि अधिकांश उपभोक्ताहरुको सचेतनाको कमी तथा क्रयशक्ति न्युन भएको कारणले बजारमा उपलब्ध खाद्य पदार्थहरु मध्ये गुणस्तरयुक्त खाद्य वस्तुहरु छनौट गर्न नसक्ने भई असुरक्षित खाद्य पदार्थ खानु पर्ने बाध्यात्मक अवस्था सृजना हुन गई मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याई रहेको अवस्था विद्यमान छ ।

खाद्य पदार्थ बिना जीवन सम्भव हुँदैन त्यसैले गांस, बास र कपास सजीव प्राणीको मूलभूत आवश्यकता रुपमा लिइन्छ । खाद्य पदार्थमा पाइने विभिन्न पोषक तत्वहरु मध्ये कार्बोहाईड्रेट र चिल्लो पदार्थले शरीरलाई शक्ति प्रदान गर्छन भने प्रोटीनले शरीरमा मांसपेशीको विकास, तन्तु निर्माण, पुनर्निमाण तथा मर्मत सम्भार गर्नुको साथै शरीरलाई अत्यावश्यक इन्जाइम तथा हर्मोन बनाउने कार्यहरु गर्छ । त्यसै गरि भिटामिन र खनिजहरु शरीरलाई अल्प मात्रामा आवश्यक भए पनि यिनीहरु शरीरमा हुने सम्पूर्ण जिव—रसायनिक कृयाकलापहरुका लागि आवश्यक हुनुका साथै शरीरमा प्रतिरक्षात्मक प्रणालीको विकास गर्दछ ।

नेपालमा भएका विभिन्न अध्ययनहरुलाई हेर्दा पोषक तत्वहरुको कमीले गर्दा खास गरी चार किसिमका रोगावस्थाहरु (१) प्रोटिन शक्तिको कारणबाट कुपोषण, (२) अल्प रक्तता, (३) भिटामिनको कमी, (४) गलगांड जस्ता रोग रहेका पाइन्छ । खाने बानीमा सुधार, खाद्य पदार्थहरुमा पौष्टिक तत्वहरुको गुण अभिवृद्धि र अहार संयोजन तथा विविधीकरणको माध्यमबाट यस्ता रोगावस्थाहरुको न्यूनिकरण गर्न सकिन्छ । अंग्रेजीमा एउटा भनाई चरितार्थ छ कि “विविधता नै सन्तुष्टिको आधार हो” यसको अर्थ शरीरलाई आवश्यक विभिन्न पौष्टिक तत्वहरु विभिन्न थरीका खाद्य पदार्थहरु खानाले सम्भव भई मानसिक रुपले संन्तुष्टि हन्छ । सबै पोषक तत्वहरु एकै प्रकारको खाद्य बस्तुबाट प्राप्त नहुने हुनाले हामीले उपभोग गर्ने खाद्य पदार्थहरुको संयोजन तथा विविधीकरण गरि बिभिन्न खाद्य परिकारहरुको नियमित तथा उपयुक्त मात्रा उपभोग गर्नु अति जरुरी हुन्छ । यसको अलावा खाद्य पदार्थहरु सफा सुग्धर हुनका साथै सुरक्षित पनि हुनु पर्दछ । अन्यथा यसले मानव स्वास्थमा प्रतीकुल असर पार्ने भई मानव जीवन जोखिममा पर्न जान्छ ।

मानव उपभोगको लागी तयार गरिएका खाद्य पदार्थहरुले उपभोक्तालाई आरोग्यता प्रदान गर्दछ, सन्तुष्टि दिन्छ, कुनै प्रकारको प्रतिकुल असर गर्दैन भन्ने मान्यताको सुनिश्चितता हुनु नै “खाद्य स्वच्छता” हो । उपभोग्य खाद्य पदार्थहरु सुरक्षित छ कि छैन भन्ने तथ्य सो पदार्थको उत्पादन, उपार्जन, प्रशोधन, संरक्षण, प्याकेजिङ्ग, भण्डारण तथा वितरणमा निर्भर पर्दछ । प्रकृतिमा पाइने उपभोग्य वस्तुहरुको प्रयोग गरि विभिन्न खाद्य परिकारहरु तयार गरिन्छ जसले गर्दा खाद्य पदार्थहरुको गुण नियन्त्रण कच्चा पदार्थ उपार्जन देखी तिनीहरुको प्रशोधन तथा रुपान्तरण र तयारी खाद्य वस्तुको स्तर सम्म गुणस्तर कायम गर्न आवश्यक हुन्छ ।

यस श्रृङखला अन्तरगत कुनै पनि चरणमा कारणवश जैविक, रासायनिक तथा भौतिक प्रदुषकहरु मिसावट हुने सम्भावना प्रवल हुन्छ जसले गर्दा ती खाद्य पदार्थहरु अस्वस्थकर हुन जान्छ । त्यस कारण कच्चा खाद्य पदार्थको स्तरमा गुण नियन्त्रणको लागि असल कृषि अभ्यास र असल भेटनरी अभ्यास अवलम्वन गर्न अति जरुरी हुन्छ । त्यसै गरि खाद्य वस्तुहरुको प्रशोधन गर्दा प्रत्येक चरणमा कुशल उत्पादन अभ्यास तथा जोखिम विश्लेषणमा आधारित गुण नियन्त्रण प्रणाली (हृयासेप) जस्ता गुण नियन्त्रण र नियमनका सिद्धान्तहरु व्यवहारिक रुपमा लागु गर्नू पर्छ । यति हुन सकेको खण्डमा खाद्य पदार्थहरुको आली देखि थाली सम्म हरेक श्रृंखलामा खाद्य स्वच्छता कायम गर्न सम्भव हुन्छ ।

माथिका तथ्यहरु बाहेक बढ्दो औद्योगिकीकरण, अनियन्त्रित तथा अव्यवस्थित शहरीकरण, अत्याधिक बिषादिको प्रयोग, अव्यस्थित सडक, शहरी क्षेत्रमा सडक छेउका नालाहरु त्था सवारी साधनहरुबाट निस्किने हानिकारक धुवा, घर तथा कलकारखानामा रंगाउने रंग आदिले गर्दा वातावरण प्रदुषण भई उपभोग्य खाद्य पदार्थमा विभिन्न किसिमका जैविक, रसायनिक तथा भौतिक जोखिमहरुको उपस्थिति बढ्ने हुंदा सो को नियन्त्रण गर्ने उपायहरु अवलम्बन गर्न सके स्वस्थकर खाद्य वस्तुहरुको उपलब्धतामा बृद्धि हुन जान्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐनमा समय समयमा आवश्यकतानुसार परिमार्जन गरि लागु गरी गराई बजारमा स्वस्थकर खाद्य बस्तुहरु उपलव्ध हुने सुनिश्चितता गराउन प्रयासरत रही आएको छ । यी ऐन–नियमहरुको प्रभावकारी कार्यान्वयनबाट मात्र असुरक्षित तथा अस्वस्थ खाद्य पदार्थहरुको उपलव्धतामा कमी आउने देखिन्छ । नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियंत्रण विभाग लगायतका अन्तरगत निकायले गर्ने गरेको संयुक्त बजार अनुगमनका क्रममा दुषित खाद्य पदार्थहरु जफत गर्ने, धुल्याउने तथा उद्योगी एवं व्यापारीहरु उपर प्रचलित खाद्य ऐन अनुसार गरेको कारबाही आदिको कारणले उपभोक्ताहरु खाद्य पदार्थ खरीद गर्दा गुणस्तर, उत्पादक, उत्पादन÷उपभोग्य मिति, तौल सम्बन्धी बिवरणहरु राम्ररी लेबलमा हेरेर खरीद गर्ने जस्ता बानीमा सुधार तथा जागरुकता समेत आएको देखिन्छ ।
हाम्रो दैनिक खान पान शैली र खाद्य पदार्थ खरीद गर्ने बानीले स्वस्थ जीवन यापनलाई प्रभाव पार्ने हुनाले निम्नलिखित तथ्यहरुमा उपभोक्तावर्गको ध्यान जानु महत्वपुर्ण हुन्छः

 

  • एकैनासका खाद्य पदार्थ सधैं उपभोग नगरी थरिथरिका खाद्य पदार्थहरु दैनिक रुपमा उपभोग गर्ने गर्नु पर्दछ ।
  • परम्परागत, सासंकृतिक तथा चाडपर्व विशेष खाद्य पदार्थहरु उपभोगमा बढावा दिनु पर्दछ ।
  •  प्रसस्त मात्रामा प्राकृतिक रंगीन फलफुल तथा तरकारी खाने बानी बसाल्नु पर्दछ ।
  • पशु जन्य खाद्य पदार्थहरु (माछा, मासु, अण्डा, दुध आदी) दैनिक उपभोग गर्ने गर्नु पर्दछ ।
  • सफा, स्वस्थकर तथा सुरक्षित खाद्य पदार्थहरु मात्र उपभोग गर्ने गरौं ।
  • खाना एकै पटक धेरै नखाई अलि अलि गरेर दिनको तीन पटक खानु सर्वोत्तम मानिन्छ ।
  • ठिक मात्रामा मात्र घ्यू, तेल तथा तेलजन्य पदार्थ प्रयोग गरौं ।
  • प्रशस्त स्वच्छ पानी पिउने गरौं ।
  • रेशादार खाद्य पदार्थहरु आबश्यक मात्रामा खाने गर्नु पर्दछ ।
  • आयोडिनयुक्त नुन मात्र प्रयोग गरौं ।
  • खाद्य पदार्थको लेबल हेरेर मात्र खरिद गरौं । उपभोग्य अबधि सकिएका खाद्य पदार्थहरु खरिद तथा उपभोग नगरौं ।
  • खाना राम्ररी पकाउने साथै पकाएको र कांचो खाद्य पदार्थ छुट्टा छुट्टै राख्ने तथा पाकि सकेको खाना यथाशिघ्र सेवन गरौं ।

हालको बदलिदो परिवेशमा खाद्य पदार्थको सम्पूर्णता तथा उपलब्धता दिनानुदिन चुनौतिपुर्ण बन्दै गई रहेको छ । बजारमा गुणस्तरहीन तथा दुषित खाद्य पदार्थहरु विक्रि वितरण भैरहेका उदाहरणहरु तथा सो को सेवनबाट ठूलो धनजनको क्षती भएको समाचार संचार माध्यमहरुबाट बेला बखतमा आउने गरेका छन । त्यस कारण खाद्य पदार्थहरुको गुण नियन्त्रण खाद्य उपार्जनकर्ता, प्रशोधनकर्ता तथा सम्पुर्ण उपभोक्ताहरुको प्रयासबाट मात्र सम्भव भएकोले आपसी समझदारी, समन्वय र सहकार्य आजको अपरिहार्य आवश्यकता भएको छ । साथै खाद्य गुणस्तर तथा स्वच्छता कायम गर्ने महाअभियान सफल हुनेछ भन्नुमा दुई मत नहोला ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :