एकता दिवसमा सार्वजनिक बिदा दिन सबै दल सहमत

This post has already been read 252 times!

काठमाडौं, २० पुस\  प्रमुख राजनीतिक दलका नेताहरूले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउन सार्वजनिक बिदा दिन माग गरेका छन्।

शनिबार राजधानीमा आयोजित छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ,एमाले ,एकिकृत माओवादी माओवादी ,राप्रपा नेपाल ,राष्ट्रिय जनमोर्चाका नेताहरूले पृथ्वी जयन्तीका अवसरमा सार्वजनकि बिदाको माग गरेका हुन्। कार्यक्रममा बोल्दै युवा तथा खेलकुद तथा संस्कृति मन्त्री रामकुमार श्रेष्ठले राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिनका लागि आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला ,एमालेका केन्द्रीय सदस्य रघुजी पन्त ,एमाओवादीका केन्द्रीय सदस्य हेमन्तप्रकाश ओली ,नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसी ,राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले राष्ट्रिय एकता दिवस मनाउन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने बताएका थिए।

कार्यक्रमका सभापति रमेशकुमार ढुंगेलले पृथ्वीनारायण शाहको ब्यक्तित्व र योगदनाको सम्मानका लागि पनि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मान्यता दिन सार्वजनिक बिदा दिनुपर्ने बताए। कार्यक्रममा इतिहासविद् जगमान गुरुङ,नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईँला ,राष्ट्रिय एकता दिवसका लागि अभियान संचालन गर्दै आएका अभियान्ता भरत बस्नेतले पृथ्वीनारायण शाहको योगदानको उचित सम्मान हुनुपर्ने बताए।