५ वर्षमा १ हजार मुद्दा

यो समाचार 106 पटक पढिएको

काठमाडौं, 20 पुस \पछिल्लो आधा दशकमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १ हजारमाथि मुद्दा दायर गरिएको छ । खाद्य ऐन ०२३ विपरित खाद्यान्न उत्पादन तथा बिक्री गर्नेविरुद्ध बर्सेनि २ सय वटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दायर गर्दै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

milk

नेपालमा सबैभन्दा बढी तरलजन्य उत्पादनको गुणस्तर तथा स्वच्छतामा समस्या देखिएको विभागले बताएको छ । “खाद्यान्नमध्ये पनि तेल, दूध, पानीजस्ता तरल उत्पादनको गुणस्तरमा बढी समस्या छ,” विभागका प्रवक्ता प्रमोद कोइरालाले भने । तरल पदार्थमा सुक्ष्म जीवाणु सजिलै हुर्कने भएकाले यस्ता वस्तुमा समस्या बढी देखिएको उनले बताए । खाद्य स्वच्छतामा विभागले सक्रियता बढाउँदा र खाद्य उत्पादन बढ्दा पनि कारबाहीको दर बर्सेनि एउटै स्तरमा रहेको उनको भनाइ छ ।

कृषि विकास मन्त्रालयअन्तर्गतको विभाग खाद्य ऐन कार्यान्वयन गर्ने सरकारी निकाय हो । विभागले शंका लागेको फर्म तथा उद्योगबाट नमुना संकलन गर्नुका साथै उजुरीको आधारमा पनि खाद्यान्नको जाँच गर्छ । विभागले गरेको अध्ययनका अनुसार नेपालमा १५ प्रतिशत खाद्यान्न कुनै न कुनै कारणले गुणस्तरहीन छन् । “हरेक १ सय खाद्यान्नका नमुनामा औसतमा १५ वटा खाद्यान्न गुणस्तहीन पाइएको छ,” प्रवक्ता कोइरालाले भने । अन्न तथा तरकारी प्रयोग हुने विषादी, मासुमा पशुलाई लगाइने मापदण्ड विपरितको सुइ, गुणस्तरहीन दानाजस्ता कुराले हामीले उपभोग गर्ने खाद्यान्न गुणस्तरहीन हुने उनले बताए ।
खाद्यान्न गुणस्तर तथा स्वच्छता कायम नियमन गर्ने कानुनको प्रभावकारी कार्यान्वयन नहुनु र कतिपय कानुनमा समेत अस्पष्टता हुनुले उपभोक्ता गुणस्तरहीन खाद्य उपभोग गर्न बाध्य भएको अधिकारकर्मीको तर्क छ । “उपभोक्ता ठग्नेलाई कारबाही गर्न नेपालका कानुन अलि उदार छन्,” उपभोक्ता हित संरक्षण मञ्चकी सचिव विमला खनालले भनिन् । त्यसमाथि कार्यान्वयन गर्ने निकायले कानुन कार्यान्वनमा समेत कम सक्रियता देखिएकाले समस्या बढ्दो क्रममा रहेको उनले बताइन् । सरकारले आवश्यकताअनुसार ऐन कानुन संशोधन गरी कार्यान्वयनका लागि सक्षम निकायको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
साउनयता १ सय ५८ पटक नमुना संकलन गरेकोमा ५८ उत्पादन, व्यवसायी र फर्मविरुद्ध मुद्दा दायर गरिएको विभागको तथ्यांक छ । विभागका अनुसार सबैभन्दा बढी पानीमा १५, दूधमा १४, घिउ र तेलमा ६, चाउचाउमा ५ र बेकरी, मिठाइलगायतमा १८ विरुद्द मुद्दा दायर गरिएको छ । विभागले खाद्य स्वच्छताप्रति सचेतना जगाउने उद्देश्यले पुस १९ ९आज०देखि २५ गतेसम्म राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउँदैछ ।
कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयका अनुसार पछिल्लो आधा दशकमा नेपालमा विषादीको प्रयोग बढेको छ । प्रयोगमा आउने विषादीमध्ये पनि ८५ प्रतिशतभन्दा बढी तरकारीमा प्रयोग हुने गरेको निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले बताए । “अव्यवस्थित रूपमा विषादी प्रयोगका कारण मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने देखिएको छ,” उनले भने । विषादी प्रयोगबारे कृषकमा चेतनाको समस्याले गर्दा पनि विषादीको खतरा बढ्दो रहेको उनको ठहर छ । निर्देशनालयले विषादी न्यूनीकरण गर्न तथा सही तरिकाले उपयोग गर्न चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । गत वर्ष ३८ करोड रुपैयाँबराबरको ३ सय ४५ मेट्रिक टन विषादी आयात भएको तथ्यांक छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :