अनुदानको मलमा कालोबजारी

This post has already been read 139 times!

बाजुरा \ सरकारी अनुदानको मलमा कालोबजारी भएको पाइएको छ। अनुदानको मल बाजुराका बाजुर्गाड, डोगडी, मार्तडी र कोल्टीबाट ठेकेदारमार्फत बिक्री गरिनुपर्नेमा व्यापारीले बढी मूल्यमा अन्यत्रैबाट बेचेको पाइएको हो। बाजुर्गाडबाट युरिया मल प्रतिकेजी २२ रुपैयाँमा खरिद गरेर सेरा, तिपाडा, बेतालमाडौंलगायतका बजारमा २५ देखि ३० रुपैयामा बिक्री भइरहेको स्थानीयको आरोप छ।

Fertilizer

तिपाडाका व्यापारी लालबहादुर बुढाले आफूले बाजुर्गाडबाट खरिद गरेर ल्याई प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री गरेको बताए। आफूलाई बिक्री गर्न पाउनेनपाउने जानकारी नभएको उनको भनाइ छ।

बाजुर्गाडबाहेक अन्य गाउँमा भने मल नै नपुस्याएको गुनासो किसानको छ। कोल्टी, मार्तडी, डोगडी र आसपासका गाविसका बासिन्दाले मल नपाएको स्थानीय दिलबहादुर रावतले बताए।

 

बाजुराका लागि अनुदानको कोटा दुई सय मेट्रिक टन रहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख रेवतीराज शर्माले बताए। गहुँ छर्ने समयमा मल बाजुरामा पुयाउनुपर्ने भए पनि ढिलो गरी पुर्‍याएको आरोप किसानको छ।

जिल्ला कृषि विकास कार्यलयका लेखापाल शिवराज भट्टका अनुसार युरिया मल प्रतिकेजी २० रुपैयाँ ५२ पैसामा बिक्री गर्नुपर्ने हो। ठेकेदारले भने प्रतिकेजी २२ रुपैयाँमा बिक्री गरेको पाइएको छ। मल ढुवानीका लागि सुशीला निर्माण सेवाले ठेक्का पाएको छ।

जिल्लामा सबै भन्दा बढी मल बाह्रबीस, कुल्देवमाडौं, ब्रह्मतोला, तोली र कैलाशमाडौंमा प्रयोग हुने गरेको छ। कार्यालयले ढिलो टेन्डर खोलेकाले गहुँ छर्ने समयमा मल नपाएको जिल्ला कृषि विकास कार्यलयका अधिकृत शर्माले बताए। दुई सय मेट्रिक टन मल बाजुराका लागि पर्याप्त नभएको कृषि विकास कार्यालयले जनाएको छ।
अन्नपूर्णबाट

Comments are closed.