तरकारी बेचेर ११ रोपनी जग्गा

यो समाचार 214 पटक पढिएको

फिदिम\ सरकारी कार्यालय र गैरसरकारी संस्थामा नौ वर्षसम्म जागिर खाएका पाँचथर फिदिम ७ निवासी ध्रुवप्रसाद पौडेलले तरकारी खेतीबाट भएको आम्दानीबाट साढे ११ रोपनी जग्गा खरिद गरेका छन्। फिदिम ७ तालखर्कका बासिन्दा पौडेल जागिर छोडेर २०५८ सालमा व्यावसायिक तरकारी खेतीमा लागेका हुन्। तालखर्क तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा घोषित गाउँ हो।

पौडेलले आफूले उत्पादन गरेको तरकारी सदरमुकाम फिदिम लगेर बिक्री गर्ने गर्छन्। पहिलो पटक तरकारी बिक्रीबाट लिएको आम्दानीबाट एक रोपनी आठ आना जग्गा खरिद गरेको उनी बताउँछन्। उनले भने, ुतरकारी खेती थालेको १२ वर्षको अवधिमा पटकपटक गरी ११ रोपनी आठ आना जग्गा किनिसकें।ु उनले गत वर्षमात्र १० रोपनी जग्गा किनेका थिए। आफूले किनेको जग्गामा पनि नगदे बाली राम्ररी उत्पादन हुने गरेको पौडेलको भनाइ छ।

Drurba

 

उनले २०५० देखि ५८ सालसम्म सडक विभाग, वैद्यखाना विकास समिति र केही गैरसरकारी संस्थामा जागिर खाए। सानो जागिर खाँदा धेरैलाई नमस्कार र हजुर्‍याइँ गर्नुपर्ने भएपछि गाउँ फर्केर तरकारी खेतीमा लागेको उनी बताउँछन्।

२०५८ सालमा आधा रोपनी क्षेत्रफलबाट खेती सुरु गरेका उनले यो वर्ष १० रोपनी जग्गामा बाली लगाएका छन्। उनले कोबी, रायो, मुला, आलु, गाजर, धनिया, काँक्रो, इस्कुस र गोलभेडा बालीमा दैनिक आठदेखि १० घन्टा समय खर्चिने गरेको बताए। आफूले लगाएको तरकारी बालीमा रासायनिक मल र विषादी प्रयोग नगरेको उनको दाबी छ।

ुजागिर खाँदा परिवार चलाउन धौधौ पथ्र्यो, तरकारी खेती गर्न थालेपछि आम्दानी र सम्मान पनि मिलेको छु, उनी भन्छन्।

तालखर्कमा पौडेलसमेत ४० किसान तरकारी खेतीमा संलग्न छन्। १२ वर्षसम्म भने पौडेल एक्लैले व्यावसायिक तरकारी खेती गरेको कृषि विकास कार्यालय पाँचथरले जनाएको छ। हाल यस गाउँमा तरकारी खेतीबाट वर्षिक २५ लाखभन्दा बढी आम्दानी भित्रिने गरेको कार्यालयको तथ्यांक छ। फिदिम ७ मा झन्डै एक सय ५० रोपनी जग्गामा तरकारी खेती हुने गरेको छ।
अन्नपूर्णबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :