सुगर मिलले गरेन कृषकको २० करोड भुक्तानी

यो समाचार 187 पटक पढिएको

रौतहट,  सर्लाहीका उखु कृषक सुनिल झा गत वर्षको उखुको पैसा लिन श्रीराम सुगर मिलमा धाएको ३ दिन भयो । उनीजस्तै गत वर्षको भुक्तानीका लागि रौतहट, बारा र सर्लाहीका सयौं कृषकको केही दिनदेखि मिलमा भिड लाग्ने गरेको छ । Sugarcane

सर्लाहीका झाले गत वर्ष मिलमा उखु दिएबापत करिब ५० हजार रुपैयाँ लिन बाँकी छ । “पुरानो पैसा लिन पाए यो साल उखु अरु नै मिलमा दिने थिएँ,” उनले भने । झाले ३ विघा खेतमा उखु लगाएका छन् । रौतहट सखुअवाका कृषक सुरेश यादवले पनि मिलसँग करिब ६० हजार रुपैयाँ लिन बाँकी छ । पुरानै पैसा लिन बाँकी भए पनि उनले यो वर्ष पनि शून्य मूल्यमा बेच्न मिलमा उखु ल्याएका छन् । “कृषक धेरै मारमा छन् । पुरानै पैसा पाएको छैन, नयाँको त कहिले हो कहिले १” उनले भने । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले १ सयभन्दा बढी कृषकको गत वर्षको उखुको करिब २० करोड रुपैयाँ कृषकलाइ भुक्तान गर्न बाँकी छ ।
समयमा नै चिनी मिलले उखुको पैसा नदिँदा केही कृषकले यो वर्ष खादसारी ९सक्खर उद्योेग०मा बिक्री गर्न थालेका छन् । गत वर्ष चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच भएको सहमतिअनुसार उखुको मूल्य प्रतिक्विन्टल ४ सय ८१ रुपैयाँ थियो । यो वर्ष सहमति नहँुदा कृषकले शून्य मूल्यमा उखु मिललाई दिएका छन् ।
रौतहटको संग्रामपुरमा रहेको खादसारीले प्रतिक्विन्टल ३ सय रुपैयाँमा उखु खरिद गरिरहेको छ । यहाँ १० भन्दा बढी सक्खर उद्योग सञ्चालनमा छन् ।
खादसारीले नगद दिने र खेतमा अन्य बालीसमेत समयमा नै लगाउन पाइने भएकाले सस्तोमा उखु बिक्री गरेको रघुनाथपुर गाविसका उखु कृषक चन्द्रदेव पासवानले बताए । पासवानले पनि मिलबाट करिब ३० हजार रुपैयाँ गत वर्ष उखु बिक्री गरेको पैसा लिन बाँकी छ ।
संग्रामपुरमा रहेको राहुल गुड सक्खर उद्योगका सञ्चालक कृष्णनन्दन साहले आफूले मागेभन्दा बढी उखु कृषकले ल्याउने गरेको बताए । “दैनिक ८० क्विन्टल उखु पेल्न सकिन्छ । तर, अहिले दैनिक ५ सय क्विन्टलसम्म उखु कृषकले ल्याउँछन्,” साहले भने । रौतहटमा यस वर्ष ६ हजार ८ सय १९ विघामा खुटी र ८ हजार ३ सय ६६ विघामा मुरहन गरी जम्मा १५ हजार ३ सय ९९ विघा जमिनमा उखुबाली लगाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
श्रीराम सुगर मिलले यस वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । गत वर्ष करिब २० लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।
मिलका महाप्रबन्धक अशोक सिंहले उखुको मूल्य निर्धारण हुन नसकेपछि प्रतिक्न्टिल ४ सय रुपैयाँ पेश्की दिने सहमतिमा मिल सञ्चालनमा आएको बताए । कृषकको बाँकी रकम तालिका बनाएर २५ दिनभित्र भुक्तान गर्ने दाबी उनले गरे ।
कारोबारबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :