गड्यौला खेतिबाट राम्रो आम्दानी

यो समाचार 328 पटक पढिएको

ललितपुर \ कुनै समयमा गड्यौलाबाट घिनाउने भारदेउका महिलाहरु अहिले गड्यौलाको व्यवसायिक खेतिबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गड्यौलाबाट कम्पोष्ट मल बनाइ बिक्री गर्ने उनीहरुको दैनिकी बनेको छ ।
५ जना महिला मिलेर भारदेउमा गड्यौला खेतिबाट कम्पोष्ट बनाउने गरेका छन् । थोरै लगानी र मेहनतबाट राम्रो आम्दानी हुन थालेपछि महिलाहरु उत्साहित भएर गड्यौला खेतितर्फ लागेका छन् । भारदेउकी लक्ष्मी श्रेष्ठले ३ दिन तालिम लिएर गड्यौला खेति गरेको बताउनुहुन्छ । धेरै समय नदिए पनि कमाई राम्रो हुने भएपछि खुसी लागेको उहाँको भनाइ छ । ‘महिनामा ४\५ दिन बढी मेहनत गर्नुपर्छ नत्र अरुबेला एकछिन ध्यान दिए पुग्छ’ उहाँले भन्नुभयो । १६ रुपैयाँ किलो कम्पोष्ट मल बिक्री गरेको र मलबाट राम्रो आम्दानी गरेको उहाँको अनुभव छ ।
गड्यौलाबाट ३ महिनामा मल निस्कन्छ । ‘अरु वस्तु पालेजस्तो गड्यौला पाल्न दुःख छैन् ।’ उहाँले भन्नुभयो । कमाइ राम्रो हुने भएपछि सुन्तली श्रेष्ठ पनि गड्यौला खेतितर्फ आकर्षित हुनुभएको छ । श्रेष्ठले शुरुमा गड्यौला खेति गर्छन भन्ने थाहा नपाए पनि खेति शुरु गरेपछि राम्रो आम्दानी हुन सकेकोमा दंग पर्नुभएको छ ।
४ वर्षअघिदेखि गड्यौला खेति गर्दै आउनुभएकी सरस्वती श्रेष्ठ एक लटमा ४ सयकेजी मल उत्पादन हुने गरेको बताउनुभयो । मल बिक्री गर्न कुनै समस्या नरहेको उहाँले बताउनुभायो । ‘गाउँमै मल किन्नेको होडबाजी चलेको छ, बाहिर बिक्री गर्न लैजानुपर्ने छैन्’ उहाँले भन्नुभयो । कम्पोष्ट मलको व्यवसायिक खेति शुरु भएपछि यहाँ रासायानिक मलको प्रयोग पनि शुन्यमा झरेको छ । सबैले कम्पोष्ट मल नै प्रयोग गर्न थालेपछि रासायानिक मलको प्रयोग घट्दै गएको हो ।
गोपेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष कमला श्रेष्ठले गड्यौला खेति शुरु भएपछि गाउँको मुहार नै फेरिएको बताउनुहुन्छ । ‘यहाँ कम्पोष्ट मल प्रयोग बढ्नुका साथै उत्पादनसमेत बढेको छ’ यहाँ उत्पादित तरकारीहरु मान्छेले खोजीखोजी किन्ने गरेको उहाँको भनाइ छ । यहाँका महिलाहरु कृषि व्यवसाय अपननाएर आत्मनिर्भर भएका छन् । सहकारीकी अध्यक्ष सम्झना श्रेष्ठले भारदेउ गाविसका करिव ३ सय भन्दा बढी महिलाहरु कृषि पेशा अपनाएर आम्दानी गर्न सफल भएको बताउनुभयो । सबै सहकारीमा आवद्व भएर सहकारीबाट सहुलियतमा ऋण लिई महिलाहरुले आर्थिक क्रियाकलापमा वृद्वि गरेका हुन् ।
सधैं चुलोचौकोमा सीमित रहने महिलाहरु विगत केही वर्ष यता सल्फ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक उपाजर्न गर्न सफल भएका हुन् । ्  सल्फ नेपालकी नरमाया राणा मगरले महिलाको आर्थिक उपार्जनका लागि काम गर्ने भएकाले सहकारीमार्फत आफ्ना कार्यक्रम अघि बढाएको बताउनुभयो । ‘हामी महिलाको आयआर्जन वृद्विका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दैै आएका छौं’ उहाँले भन्नुभयो । गोपेश्वरी सहकारीले ३६ लाख १९ हजार ४ सय २३ रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :