तरकारीको थोक मूल्य कालिमाटीमै सस्तो

यो समाचार 202 पटक पढिएको

काठमाडौं, १६ पुस( निजी क्षेत्रका बजारभन्दा तरकारीको थोक मूल्य सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा सस्तो पाइने गरेको एउटा अध्ययनले देखाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सञ्चालन गरेको बजारमा अन्य निजी तरकारी बजारभन्दा बढीमा ४० प्रतिशतसम्म कम मूल्यमा तरकारी किनबेच भएको समितिले गरेको अध्ययनले देखाएको हो ।

सरकारी स्वामित्वकै बजारमा बाहिरभन्दा थोक मूल्य बढी भएको भन्ने गुनासो आएपछि अध्ययन समिति गठन गरी समितिले अध्ययन गरेको थियो । “मूल्य बढी भएको गुनासोका आधारमा मन्त्रालयले दिएको निर्देशनअनुसार ११ वटा तरकारीको तुलनात्मक अध्ययन गरेका थियौं,” समितिका अध्यक्ष मोहनबहादुर चापागाइँले भने, “अन्य तरकारी बजारको तुलनामा सेतो मूलाको मूल्य कालिमाटीमा ४० प्रतिशत सस्तो पाइएको छ ।”

599
कुन बजारमा कति मूल्य रु प्रतिकिलो रुपैयाँमा

 

समितिले अध्ययन गरेको दिन कालिमाटी बजारमा प्रतिकिलो थोक मूल्य साढे २७ रुपैयाँ रहेकोमा अध्ययनका लागि छनोट गरिएको टुकुचा बजारमा प्रतिकिलो ४०, बल्खुमा ३६ र बानेश्वरमा प्रतिकिलो ४० रुपैयाँ रहेको उनले बताए । बन्दा र काउलीबाहेक अन्य तरकारीको थोक मूल्य नयाँ बानेश्वर, टुकुचा र बल्खुमा सञ्चालित निजी तरकारी बजारभन्दा कालिमाटीमै सस्तो रहेको समितिले जनाएको छ । बाहिरका बजारमा प्रतिकिलो १ सय ६ देखि १ सय १५ रुपैयाँसम्म बिक्री भइरहँदा कालिमाटीको मूल्य भने औसत साढे ९२ रुपैयाँ रहेको समितिले दाबी गरेको छ ।
पुस १४ गते कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालको अध्यक्षतामा बसेको सुशासन एकाइ बैठकले कालिमाटी बजारमा अन्य निजी बजारको तुलनामा महँगो भएको गुनासो आएको भन्दै तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो । “यो अध्ययनले कालिमाटी बजारमा निजी बजारको भन्दा महँगो भन्ने कुरा गलत साबित गरेको छ,” समितिका अध्यक्ष चापागाइँले भने, “कतिपय तरकारीको मूल्य कालिमाटी र अन्य बजारमा समान छ । निजी बजारले पनि प्रतिस्पर्धाको आधारमा कारोबार गरेका छन् ।” अध्ययनमा आलु, सुकेको प्याज, काउली, बन्दा, गोलभेंडा, परवल, मुला, खुर्सानी, अदुवा, लसुन र बरेलालगायतका तरकारी समावेश गरिएको थियो ।

 

साभार ः कारोबार

रचनात्मक प्रतिक्रिया दिनुहोस् :