चिज उत्पादनबाट सत्र करोडको कारोबार

यो समाचार 316 पटक पढिएको

इलाम, १५ पुस । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिजको माग बढेपछि इलाममा चिज कारखाना खुल्ने क्रम बढेको छ । विगतमा एक दर्जनजति चिज उत्पादन केन्द्र रहेकामा आव २०७०/७१ सम्म आइपुग्दा दोब्बर भएको छ । पूर्वी पशुपतिनगर गाविसमा एक सरकारीसहित नौ वटा, पुवामझुवा, सुलुबुङ, साँखेजुङ, नामसालिङ, फिक्कल र नयाँबजारमा दुई/दुई वटा, श्रीअन्तु र रक्से एक/एक वटा चिज कारखाना स्थापना भएका छन् ।

Cheese

पशुपतिनगर गाविसमा खुलेका चिज कारखानामा वार्षिक २३ लाख ३० हजार ७८० लिटर दूधको कारोबार हुने गरेको छ । दुग्ध विकास संस्थानको स्वामित्वमा रहेका चार वटा चिज उत्पादन केन्द्र यस जिल्लामा छन् । सरकारी स्वामित्वमा रहेका पशुपतिनगर, रक्से, नयाँबजार र राँकेबाट चिज उत्पादन हुदै आएको छ । चिजको माग बढेपछि नयाँबजार र सुलुबुङमा समेत नयाँ कारखाना खुलेका छन् । पशुपतिनगर–३ का गोविन्द खड्काले निजी लगानीमा कारखाना खोल्नुभएको छ । वार्षिक रु एक करोडभन्दा बढीको चिजको कारोबार गर्ने गरेको उहाँले बताउनुभयो । “चिजबाट मनग्य आम्दानी हुन्छ, खट्न सके मासिक रु १२ देखि १५ हजारसम्म कमाइ हुन्छ”, उहाँले भन्नुभयो ।

पशुपतिनगरस्थित दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्रले चार लाख ९१ हजार ६०० लिटर दूधबाट चिज उत्पादन गरी वार्षिक रु दुई करोडभन्दा बढीको कारोबार गर्ने गर्छ । यहाँ उत्पादित चिजको मूल्य प्रतिकिलो रु ५०० मा बिक्री हुन्छ । उत्पादित चिज झापा, विराटनगर, पोखरा हुँदै राजधानीका तारे होटलसम्म पुग्ने गरेको छ । देशका विभिन्न सहरका अतिरिक्त बङ्गलादेशमा समेत यहाँको चिज निर्यात हुँदै आएको छ । नेपाल आउने पर्यटकले चिज मन पराउने भएकाले पर्यटक जति धेरै नेपाल भित्रिन्छन् त्यति बढी चिजको माग बढ्ने नयाँबजार चिज उत्पादन केन्द्रका गणेश पुरीले बताउनुभयो । “चिजको माग बढेकाले उत्पादनमा पनि वृद्धि भएको छ”, उहाँ भन्नुहुन्छ, “यसले नयाँ कारखाना खोल्ने होड पनि बढेको छ ।”

भर्खरैमात्र यो कारखाना खुले पनि यसको उत्पादन बढ्ने क्रममा छ । सरकारीस्तरको दुग्ध विकास संस्थानको कारखाना
बाहेक इलामको पूर्वी क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित विनायक, प्रशान्ति, लक्कीडेरी, पञ्चामृत, अनमोल डेरी उद्योग सञ्चालन भइरहेका छन् । यी कारखानाले चिजबाहेक नौनी, घ्यूसमेत उत्पादन गर्छन् । घ्यू प्रतिकिलो रु ४०० देखि रु ५०० मा बिक्री हुन्छ । डिभिजन सरकारी कार्यालय इलामका अनुसार इलाममा रहेका १०० भन्दा बढी दुग्ध उत्पादक सहकारी संस्थामार्फत दैनिक ३५ हजार भन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

यहाँको अधिकांश दूध बढी मात्रामा चिज कारखानामा खपत हुने गरेको छ । जिल्लामा खुलेका साना तथा ठूला गरी २३ वटा चिज कारखानामा वार्षिक ४५ लाख २० हजार चार सय ४८ लिटर दूधबाट बन्ने रु १७ करोड ५४ लाख ३८ हजार ८० को चिज बिक्री वितरण हुने गरेको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । यो वर्ष जिल्लामा तीन लाख ७६ हजार ७०४ किलोग्राम चिज उत्पादन भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :