डेरी क्षेत्रले फड्को मारेको छ : सुमित केडिया / संवाद

यो समाचार 574 पटक पढिएको


sumit-kedia

♦ छिमेकी मुलुकबाट अनुदानको दूध र दुग्धजन्य पदार्थ आयात हुँदा त्यसले नेपालको डेरी उद्योग मात्रै होइन, किसानसमेत प्रभावित हुँदै आएका छन् ।

♦ अहिले किसानले घाँस, पराल, छवाली, कोदोको नल र झारपातभन्दा दानामा जोड दिन थालेका छन् ।

♦ उद्योगमा लोडसेडिङ अन्त्य हुनुपर्छ । १२ घण्टाको लोडसेडिङका कारण लागत खर्च झन् बढेको छ ।


नेपालको कृषि क्षेत्रमध्ये धान वाली उत्पादन र कुखुरा उत्पादन पछि तेश्रो नम्बरमा अहिले डेरी क्षेत्रले फड्को मार्ने क्रम जारी छ । नेपालमा डेरी क्षेत्र (दूध तथा दुग्धजन्य पदार्थ) फस्टाउने क्रममा छ । दूध आफैमा पूर्ण खाद्य पदार्थ मानिन्छ । बालकदेखि बृद्धसम्मलाई यो आहार नभई हुदैंन् । नीजि क्षेत्रको डेरीतर्फ बढ्दो आकर्षण र लगानीका कारण उपत्यकासहित मुलुकभरका जिल्लामा यतिवेला डेरी उद्योगहरु धमाधम खुल्ने क्रममा छन् । अहिले डेरी क्षेत्रमा मात्रै नीजि र सरकारी क्षेत्रबाट करिब १७ अर्बभन्दा बढीको लगानी छ । केही उद्योगहरु सरकारी मापदण्डभित्र रहेर राजस्व बुझाएर सञ्चालित छन् भने कतिपय उद्योगहरु छाडा र अनियन्त्रित रुपमा सञ्चालनमा छन् । सरकारले यस्ता डेरीलाई कानुनी दायरामा ल्याउन सकेको छैंन् ।

सरकारी मापदण्ड पुरा गरेका डेरी उद्योगहरुको छाता संगठन नेपाल डेरी एशोसिएसन अहिले यो क्षेत्रको विकास र दूधको गुणस्तरमा वकालत गर्दैआएको छ । अहिले एशोसिएसनको नेतृत्व व्यापारिक घराना समूह केडिया समूहका सुमित केडियाले गर्दैआएका छन् । नेपालमा अत्याधुनिक सुविधा सम्पन्न उपकरणको सहयोगमा दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्दैआएको सीताराम गोकुल मिल्कका केडिया प्रवन्ध निर्देशक हुन् । सीताराम गोकुल मिल्स डिडिसीपछि मुुलुककै दोश्रो दूध उत्पादन गर्ने उद्योगको रुपमा आउछ । एशोसिएसनमा उपत्यकासहित विभिन्न जिल्लाका एक सय ७५ वटा डेरी उद्योग आवद्ध छन् । प्रस्तुत छ डेरी क्षेत्रको समग्र अवस्थाको बारेमा केडियासँग राजेश बर्माले गरेको कुराकानीको संक्षेप :

नेपालका डेरी क्षेत्रको समग्र अवस्था कस्तो छ ?
केडिया :  नेपालमा डेरी क्षेत्रको भविष्य उज्जवल छ । पछिल्लो समयमा यो क्षेत्रले नेपालमा ग्रुमिङ्ग गर्दैछ । धानवाली र कुखुरा पालनपछि कृषि क्षेत्रका कुनै क्षेत्र अघि बढेको छ भने त्यो डेरी सेक्टर नै हो । अहिले यो क्षेत्रमा सरकारी र नीजि क्षेत्रको १५ अर्बभन्दा बढीको लगानी छ । मुलुकभर कुना कुनामा डेरी खोल्ने लहर चलेको छ । अहिले मुलुकभरमा गरी दैनिक ४८ लाख लिटर दूध उत्पादन हुन्छ । यसमध्ये साढे चार लाख लिटर उपत्यकामा खपत हुन्छ । बाँकी दूध स्थानीय जिल्लामा खपत हुन्छ । उत्पादित दूधमध्ये करिब १५ प्रतिशत उद्योगमा खपत हुन्छ । बाँकी ३५ प्रतिशत स्थानीय जिल्लाका मिठाई पसल र चिया पसलमा र ५० प्रतिशत किसानले आफै उपभोग गर्दैआएका छन् । डेरी सेक्टरमा किसान तहका चार लाख ५० हजारले रोजगारी पाएका छन् भने उद्योग तहमा २० हजारले रोजगारी पाएका छन् ।

कतिपय सम्पूर्ण सरकारी मापदण्डलाई अंगालेर सञ्चालनमा छन् भने कतिपय आफुखुशी सञ्चालनमा छन् । मुलुकभर अहिले अनौपचारिक तथ्याँकअनुसार करिब सातसयको हाराहारीमा डेरी उद्योगहरु सञ्चालनमा छन् । हिजोका दिनमा दूध संकलन गरी प्रशोधन पश्चात बिक्रि बितरण गर्ने उद्योगहरु अहिले विविधिकरण प्रकृयामा गएर दूधबाट पनिर, चिज, मिठाई, खुवा, घिउ, आइसक्रिमलगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्न सक्षम भएका छन् । जसले गर्दा छिमेकी मुलुकहरुबाट बर्षेनी ठूलो परिमाणमा आयात हुने दूध र दुग्धजन्य पदार्थको परिमाण घट्दो क्रममा पुगेको छ । अहिले पनि छिमेकी मुलुकहरुबाट बर्षेनी करिब चार अर्ब मूल्यबराबरको दूध र दूग्धजन्य पदार्थ आयात हुन्छ । समय समयमा केही प्राविधिक समस्याहरुका कारण माथि उठ्न थालेको यो क्षेत्र कहिले काँही धरासायी हुने अवस्थामा पनि पुग्ने गरेको छ ।

हामी गुणस्तरयुक्त दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्न प्रतिवद्ध छौं । यसका लागि एशोसिएसनमार्फत पनि सबै उद्योगलाई गुणस्तर कायम राख्न विशेष निर्देशन दिइएको छ । विभिन्न समयमा गुणस्तर कायम राख्न छलफल, तालिम र प्रशिक्षणजस्ता कार्यक्रमहरु पनि नियमित रुपमा सञ्चालन गर्दैआएका छौं । सरकारले दर्ता बिना र सरकारी मापदण्ड पुरा नगरी चोक र गल्लीहरुमा गुणस्तरहिन पोके दूध बिक्रि गर्दैआएका साना डेरीलाई कानुनी दायरामा ल्याइदिने हो र प्रविधि, प्राविधिक सल्लाह तथा कच्चा पदार्थ उपलब्ध हुन सके यो क्षेत्रले निक्कै उचाई प्राप्त गर्न सक्छ । राज्यले समय समयमा विश्व परिवेशमा भएका दूध र दुग्धजन्य पदार्थको गुणस्तर, प्रोत्साहन र बजारीकरणसम्बन्धी नीतिहरु अध्ययन गरेर सोही आधारमा नीजि क्षेत्रलाई पनि समावेश गरी भएका नीति तथा ऐनलाई समय सुहाउदो परिमार्जन पनि गर्दै लैजानु पर्छ । स्वदेशी उद्योगलाई जगेर्ना गर्नुपर्छ । यो क्षेत्रलाई थप अगाडी बढाउन राज्यको उद्योगमैत्री नीति आवश्यक छ ।

तपाईले डेरी सेक्टरमा समस्याहरु छन् भन्नुभयो । के के हुन् त्यस्ता समस्याहरु ?
केडिया : डेरी क्षेत्रलाई थप विकास गर्न केही समस्याहरु हामीले भेटेका छौं । यस्ता समस्यालाई समाधान नगरेसम्म यो क्षेत्र अघि बढ्न सक्दैंन र लगानी पनि यो क्षेत्रमा आउदैंन् । समस्याहरु समाधान नगर्ने हो भने नीजि क्षेत्रका उद्योगहरु धरासायी पनि हुन सक्छ । मुख्य गरी छिमेकी मुलुकबाट अनुदानित दूध र दुग्धजन्य पदार्थ नेपालमा आयात हुँदा त्यसले नेपालको डेरी उद्योगमात्रै होइन्, किसानसमेत प्रभावित हुँदैआएका छन् । छिमेकी मुलुकले किसान र उद्योगलाई पनि विभिन्न चरणमा विभिन्न प्रकारका अनुदान उपलब्ध गराएको छ । जसले गर्दा छिमेकी मुलुकबाट आउने दूध र दुग्धजन्य पदार्थ निक्कै सस्तो छ । यस्तो सस्तो दूध र दुग्धजन्य पदार्थसँग नेपाली उत्पादनले बजारमा प्रतिस्र्पधा गर्न सकेको छैंन् ।

हामीकहाँ लागत खर्च नै अत्याधिक छ । लागत खर्च नघटेसम्म स्वदेशी उत्पादनले छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्र्पधा गर्न सक्दैंन् । प्रतिस्र्पधाको अभावमा बजार पाउन कठिन छ, स्वदेशी उत्पादनलाई । त्यसैगरी नेपालमा डेरी क्ष्ोत्रको बिकास हुँदै गर्दा दक्ष प्राविधिक जनशक्तिको निक्कै अभाव खडकिएको छ । आज बजारमा डेरी सेक्टरसम्बन्धी बिज्ञता भएको म्यानेजर, अपरेटर र डेरी बिज्ञ खोज्नुहुन्छ भने बजारमा पाइदैंन् । यो क्षेत्रको विस्तारसँगै दक्ष जनशक्ति उत्पादन हुन नसक्दा उद्योग सञ्चालन गर्न समस्या छ । यस्तै गोठदेखि ओठसम्मको प्रक्रियामा बैज्ञानिक प्रविधी अबलम्बन नहुँदा समय समयमा कोलिफर्मजस्ता समस्याले पनि उद्योगलाई पिरोल्दै आएको छ । कोलिफर्म उद्योगी एक्लैले गर्दा कम गर्न सकिन्न । यसका लागि किसान तहदेखि नै शुद्धता र स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । अनि मात्रै राज्यले भनेअनुसार कोलिफर्मलाई कम परिमाणमा झार्न सकिन्छ । दूध उत्पादन हुने गाउमा गएर हेर्नुस् । दूध कसरी दुहिन्छ । कस्ता भाडामा राखिन्छ । कसरी संकलन गरिन्छ । यस्ता मूलभुत बिषयमा ध्यान नदिने हो भने उद्योगमा जस्तो सुकै अत्याधुनिक प्लान्ट राखेर पनि स्वच्छ दूध उत्पादन गर्न सकिन्न् । अत्याधुनिक प्रविधिमा आधारित अमेरिका, युरोप र भारतलगायतका मुलुकमा प्रशोधित दूधमा अधिकतम कोलिफर्मको मात्रा प्रति मिलिलिटर पाँचदेखि १० सम्मलाई मापदण्डभित्र राखेको छ । तर हामी कहाँ शुन्यमा राख्नुपर्ने बाध्यता छ ।

राज्यले नीजि क्षेत्रलाई थप अगाडी बढाउन केही मुलभूत बिषयमा ध्यान दिनै पर्ने हुन्छ । अनि मात्रै यो क्षेत्र थप प्रभावकारी रुपमा अघि बढ्न सक्छ । डेरी सञ्चालन गर्ने उद्योगीलाई राज्यले सुरुमा शिप र प्राविधिक जानकारी उपलब्ध गराएर प्रोत्साहन गर्नुपर्छ । समय समयमा आवश्यक पर्ने आवश्यक सुविधा उपलब्ध गराउनुपर्छ । सबै सुविधा प्राप्त गरेर पनि डेरी क्षेत्रले फट्याई गरेको अवस्थामा कारवाहीको प्रक्रिया अघि बढाउनुपर्छ ।

यसैगरी अहिले दुधमा चिल्लोपना(फ्याट) र दूधमा ठोस पदार्थ(एसएनएफ) को उपस्थिति पनि कम परिमाणमा हुँदा उद्योगीहरुले ठूलो समस्या व्यहोर्न बाध्य भएका छन् । ति दुई तत्व कम परिमाणमा दूधमा उपस्थित हुँदा कतिपय उद्योगीले चाहेर पनि उत्कृष्ठ गुणस्तर भएको दूध उत्पादन गर्न सकेका छैंनन् । यस वाहेक नीजि क्षेत्रसँग राज्यको व्यवहारमा पनि अर्को समस्या छ । राज्यले डेरी सेक्टरको विकासका लागि अनुसन्धान, विकास र अनुगमनसम्बन्धी संयन्त्रको पनि विकास गरिदिनुपर्छ । सरकारी स्वामित्वको डिडिसीलाई बर्षेनी सरकारले अनुदान उपलब्ध गराएर सञ्चालन गराउदै आएको छ । तर नीजि क्षेत्र बर्षेनी बैंकबाट चर्को व्याजदरमा ऋण उठाएर उद्योग सञ्चालन गर्नुपरेको छ । यस्तो अवस्थामा सरकारी अनुदानमा सञ्चालन हुने डिडिसीसँग नीजि क्षेत्र कहिले पनि प्रतिस्र्पधा गर्न सक्दैंन् । डिडिसीले अभिभावकको भूमिका खेलिदिएको भए नीजि क्षेत्रका उद्योग पनि निक्कै फस्टाउने थियो ।

यस्तै हामीले पटक पटक राज्यको ध्यानाकर्षण गराउदै आएका छौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको अवस्था हेरेर गरेको वर्गीकरणजस्तै नेपालभर रहेका साना, मझौला, ठूला र घरेलु गरी चार भागमा वर्गीकरण गरी वर्गीकरण गरिदिनुपर्छ । वर्गीकरणअनुसार चारवटै प्रकारका लागि छुट्टाछुट्टै मापदण्ड, लगानी, बजार र सुविधाको व्यवस्था गरिदिनुपर्छ । साथै नेपालमा उत्पादन हुने दूधको खपत हुन नसकेको अवस्था छ । अहिले पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिद्यार्थीले आयातित दूध र दूग्धजन्य पदार्थ उपभोग गर्दैआएका छन् । यो क्षेत्रमा स्वदेशी दूध र दुग्धजन्य पदार्थको उपभोग गराउन सक्यो भने कृृषिमा सबैभन्दा माथि डेरी क्षेत्र खुडकिलो चढ्न सक्छ ।

छिमेकी मुलुकको उत्पादनसँग बजार प्रतिस्र्पधा गर्न लागत खर्च कसरी कम गर्न सकिन्छ ?
केडिया : लागत खर्च कम गर्न केही विशिष्ट प्रकृतिका बिषयबस्तुमा ध्यान दिनुपर्छ भन्ने मेरो बुझाई छ । अहिले किसानहरुले घाँस, पराल, छवाली, कोदोको नल र झारपातभन्दा दानामा बिशेष जोड दिएका छन् । गाईभैसीलाई अहिले बिशेषगरी दाना खुवाउने चलन बढेको छ । दाना खुवाउने पनि वैज्ञानिक तरिका हुन्छ । तर किसानले आफुखुशी आवश्यकताभन्दा बढी परिमाणमा दानाको प्रयोग गर्दैआएका छन् । यसले गर्दा किसान तहमा लागत खर्च निक्कै महँगो भएको छ । घाँसभन्दा दानामा निर्भर आहारा प्रक्रियालाई हटाउनुपर्छ । यसले गर्दा धेरै हदसम्म लागत खर्च कम हुन्छ । दानाकै कारण करिब ७० प्रतिशत लागत खर्च बढेको छ ।

त्यस्तै उद्योग तहमा राज्यले लोडसेडिङ्ग प्रणालीलाई अन्त्य गर्नुपर्छ । १२—१२ घण्टाको लोडसेडिङ्गका कारण लागत खर्च झन् बढ्दै गएको छ । लोडसेडिङ्ग हुँदा जेनरेटरको प्रयोग गरी उत्पादन गर्दा थप ६० प्रतिशतसम्म लागत खर्चमा बृद्धि भएको छ । अन्य मुलुकमा उद्योगले लोडसेडिङ्गको समस्या वेहोर्नुपरेको छैंन् । राज्य तहमा फोरेज मिसन र नश्ल सुधार र उन्नत जातका गाई तथा भैसीको सिमेन उत्पादन हुनुपर्छ । यसैगरी डेरी उद्योग सञ्चालन गर्न आवश्यक पर्ने विभिन्न प्रकारका उपकरण आयात गर्न विशेष सुविधा उपलब्ध गराइनुपर्छ । यस्ता चार तहमा मात्रै प्रभावकारी रुपमा काम गर्न सकियो भने धेरै हदसम्म लागत खर्च कम गरी किसानलाई नै बढी आम्दानी दिन सकिन्छ ।

तपाईको स्वामित्वमा रहेको सीताराम गोकुल मिल्सले उपभोक्ताका लागि आगामी दिनमा कस्ता प्रकारका उत्पादनहरु ल्याउने तयारी गरेको छ ?
केडिया : निश्चय नै हामी पनि नयाँ सोच लिएर अहिले अघि बढिरहेका छौं । हिजोका दिनसम्म हामीले दूध र घिउ उत्पादन गर्दैआएका थियौं । अहिले हामी दूग्ध पदार्थको विविधिकरणमा जाने योजना अघि सारेका छौं । जसअन्तर्गत आगामी पाँच महिनापछि उपत्यकाका उपभोक्ताहरु माझ दूध र घिउ वाहेक हाम्रै ब्राण्डमा दही, पनिर, मिठाई, लस्सी र फ्लेवर मिल्क लिएर आउदैंछौं । यसका लागि अहिले भारतबाट अत्याधिक उपकरण र कामदार ल्याएर प्लान्ट निर्माण गर्ने काम भइरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :