पसगाउँका कृषक अलैंचीखेतीमा

यो समाचार 297 पटक पढिएको

लमजुङ, लमजुङको विकट गाविस पसगाउँका कृषक अलैंचीखेतीमा आकर्षित भएका छन् । विभिन्न समूह गठन गरेर यहाँका कृषक अलैंचीखेतीमा लागेका हुन् । ८ सयदेखि २ हजार मिटरसम्मको उचाइमा राम्रोसँग फल्ने अलैंचीको पसगाउँमा राम्रो सम्भावना रहेको कृषि प्राविधिकले बताएपछि कृषकले धमाधम अलैंची लगाउन थालेका छन् ।

 

alaichhi परम्परागत कृषिमा दुःख धेरै हुने र मेहनतअनुसारको फल नपाउने भएकाले अलैंचीखेतीमा लागेको स्थानीय कृषक बताउँछन् । विकासका पूर्वाधार नपुगेको दुर्गम भएकाले स्थानीय सहरतिर पलायन हुन थालेको भन्दै त्यसलाई रोक्न अलैंचीखेती गर्न थालिएको प्रगतिशील अलैंची कृषक समूहका अध्यक्ष होमबहादुर गुरुङले बताए ।

पसगाउँमा मात्र अहिले ५ सय रोपनीभन्दा बढी क्षेत्रफलमा अलैंचीखेती गरिएको छ । गाउँबाहिरबाट अलैंचीको बिरुवा ल्याउँदा झण्डै ५ घण्टा मानिसले बोकेर ल्याउनुपर्ने समस्याका कारण गाउँमै नर्सरीसमेत स्थापना गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्थापना गरिएको नर्सरीमा २ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । पसगाउँ र सिङदीमा अहिले समूह बनाएर अलैंचीखेती गरिरहेको र यसबाट प्रत्यक्ष रूपमा ७५ प्रतिशत स्थानीय लाभान्वित हुने समूहका अध्यक्ष गुरुङको दाबी छ ।

अलैंचीखेतीका लागी स्थानीय युवा बढी सक्रिय भएका छन् । बाँझो रहेका र चिस्यान बढी भएको जमिनमा अलैंचीखेती गर्दा परम्परागत खेतीमा जस्तो दुःख गर्न नपरेको स्थानीय युवा बताउँछन् । अलैंचीखेती विस्तारै बढाउँदै लगेर ७ हजार रोपनीमा विस्तार गर्ने उनीहरूको लक्ष्य छ । अलैंचीखेतीका लागि जिल्ला कृषि विकास कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), पसगाउँ गाविसलगायतको समेत सहयोग रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :