नेपालको ३६ जिल्लामा व्यवसायिक पुष्पखेती, ६१ प्रतिशतले भाडाको जग्गा प्रयोग गर्ने

This post has already been read 251 times!

flower-survay


प्रतिवेदनअनुसार पुष्प खेती फार्ममध्ये ५२ प्रतिशतले मात्रै आधिकारिक रुपमा सरकारी निकायबाट अनुमति लिएर पुष्प खेती सञ्चालन गर्दैआएका छन् ।


काठमाडौं / नेपालको पाँच जिल्लामा व्यवसायिक रुपमा पुष्प खेती हुँदै आएको छ । राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको व्यवसायिक पुष्प खेती सर्वेक्षणसम्बन्धी प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो ।

विभागकाअनुसार महानिर्देशक सुमनराज अर्यालकाअनुसार व्यवसायिक रुपमा सबैभन्दा बढी काठमाडौं, ललितपुर, मोरङ्ग, कास्की र भक्तपुर जिल्लामा पुष्प खेती हुँदै आएको छ । विभागले गत आर्थिक वर्ष ०७२/७३ मा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को सहयोगमा मुलुकभर पुष्प खेतिको अवस्थाको बारेमा सर्वेक्षण गरेको थियो । विभागले नेपालमा पुष्प खेतीको अवस्थाको बारेमा २०७१ साउन १ गतेदेखि २०७२ असारमसान्तसम्मको १२ महिनाको अवधीलाई मानेर पुष्प खेतीसम्बन्धी सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणको प्रतिवेदनअनुसार काठमाडौंमा दुई सय ८३, ललितपुरमा ४०, मोरङ्गमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा व्यवासायिक फार्मबाट पुष्पको उत्पादन हुँदै आएको छ । प्रादेशिक रुपमा सबैभन्दा बढी प्रदेश नम्बर तीनमा तीन सय ८१, प्रदेश नम्बर एकमा ६८, प्रदेश नम्बर दुईमा ५४, प्रदेश नम्बर पांचमा २४, प्रदेश नम्बर चारमा २२ र प्रदेश नम्बर सातमा १० वटा पुष्प खेतीको व्यवसायिक फार्म सञ्चालनमा छन् । प्रदेश नम्बर ६ मा भने दुई वटा फार्म मात्रै सञ्चालनमा छ ।

विभागको कृषि तथा पशुपंक्षि गणना तथा सर्वेक्षण शाखाका निर्देशक अम्बिका बस्यालकाअनुसार हिमाली तथा पहाडी जिल्लामा कम्तिमा आठ आना र तराईमा कम्तिमा १० धुर जग्गामा मौसमी, बहुबर्षे तथा आलंकारिक, कट फलावर, बल्व, राईजोम तथा टयुवर, लुज फलावर र गार्डेन दुवो उत्पादन गर्नेलाई व्यवसायिक पुष्प खेतीको श्रेणीमा राखिएको छ । विभागका अनुसार २०६० देखि २०७० को अवधीमा सबैभन्दा बढी पुष्प खेतीको विकास भएको भेटिएको छ । यो अवधीमा दुई सय ९९ वटा फार्म स्थापना भएर व्यवसायिक रुपमा उत्पादन गर्दैआएको छ । यस्ता पुष्प खेती फार्ममध्ये २९ प्रतिशत फार्म महिलाले सञ्चालन गर्दैआएका छन् । बाँकी पुरुषले सञ्चालन गरेका छन् । लुज फ्लावर उत्पादनको क्षेत्रमा महिलाको नेतृत्व ७७ प्रतिशत रहेको पाइएको छ ।

प्रतिवेदनअनुसार पुष्प खेती फार्ममध्ये ५२ प्रतिशतले मात्रै आधिकारिक रुपमा सरकारी निकायबाट अनुमति लिएर पुष्प खेती सञ्चालन गर्दैआएका छन् । जसमध्ये ४३ प्रतिशतले घरेलुमा, १७ प्रतिशतले गाविस र नगरपालिकामा, १६ प्रतिशतले कम्पनी रजिष्टारको कार्यालयमा, सात प्रतिशतले जिल्ला कृषि विकास कार्यालयमा र १७ प्रतिशतले अन्य निकायमा दर्ता गरेको पाइएको छ ।

अर्यालकाअनुसार किसानले उत्पादन गरेका वार्षिक ६७ अर्व मूल्य बराबरको पुष्पको कारोबार नेपालमा हुने गरेको छ । सर्वेक्षणले मुलुकभरका ३६ जिल्ला व्यवसायीक पुष्प खेति हुँदै आएको देखाएको हो । “नेपालको पुष्प खेतीको यकिन अवस्थाबारे सरोकारवालको सहयोगमा इतिहासमै पहिलो पटक सर्वेक्षण गरेका छौं”, बस्यालले भने । प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर सबैभन्दा बढी कट् फ्लावर एक करोड ३० लाख गोटा उत्पादन भएको थियो भने मौसमी फुल एक करोड पांच लाख गोटा उत्पादन भएको छ । यसैगरी वहुवर्षे फुल, लुज फ्लावर, आलांकारिक फुल, गार्डेन दुबो तथा फुलको वीउ, वल्व, राइजोम, टुवर लगाएत उत्पादन हुने गरेको देखिन्छ ।

एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले इतिहासमा पहिलो पटक भएको सर्वेक्षणले नेपालमा भएको पुष्प खेतीको बारेमा यथार्थ जानकारी बाहिर ल्याएको जानकारी दिए । पुष्प खेतीमा तलव ज्याला नलिएर स्थायी रुपमा सात सय १९ जना र आठ सय ४२ पुरुष गरी एक हजार पाँच ६१ जना सञ्चालक कार्यरत छन् । यसैगरी तलव ज्याला लिने गरी चार सय ४५ महिला र दुई सय ८९ जना पुरुष सञ्चालकको रुपमा कार्यरत छन् । अस्थायी रुपमा ४६ हजार आठ सय ११ महिला र २५ हजार पाँच सय ७४ जना पुरुष कामदार यो पेशमा आवद्ध छन् ।

पुष्प खेतीमा २६ प्रतिशत व्यवसायिले विभिन्न बैंकबाट ऋण लिएर व्यवसाय गरेका छन् । यसमध्ये ३६ प्रतिशतले सहकारीबाट, २७ प्रतिशतले कृषि विकास बैंकबाट, २६ प्रतिशतले अन्य वित्तिय संस्थाबाट र बाँकी ११ प्रतिशतले विभिन्न स्रोतबाट ऋण लिएर यो पेशा सञ्चालन गर्दैआएका छन् । ५२ प्रतिशत किसान तथा व्यवसायिकले बीउ विरुवा खरिद गर्न, ४२ प्रतिशतले टनेल र ग्रिन हाउस निर्माण गर्न ६ प्रतिशतले अन्य कामका लागि ऋण लिएका छन् । पुष्प खेती गर्दैआएका किसानमध्ये ३८ प्रतिशतले आफ्नै जग्गा प्रयोगमा ल्याएका छन् भने ६१ प्रतिशतले जग्गा भाडामा लिएर पुष्प खेती गर्दैआएका छन् ।