प्लान्ट क्वारेन्टाइनमा कडाइ गर्ने सहमति

यो समाचार 225 पटक पढिएको

वीरगन्ज । प्लान्ट क्वारेन्टाइन प्रक्रिया पूरा गरिएका बिरुवा तथा बिरुवाजन्य उपजमात्र नेपाल भित्र्याउन पाउने व्यवस्थालाई प्रभावकारी रुपमा लागू गर्न सरोकारवाला निकायहरु सहमत भएका छन् ।
Birgunj
प्लान्ट क्वारेन्टाइन प्रक्रिया पूरा नहुँदा सीमावर्ती भन्सार नाकाबाट व्यापक रुपमा गुणस्तरहीन एवम् हानिकारक रोग भएका बिरुवा तथा कृषिजन्य वस्तु आयात हुने गरेको गुनासो आइरहेका बेला क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय वीरगन्ज र सरोकारवाला निकायबीच आज यहा“ बसेको बैठकमा बिरुवा वा बिरुवाजन्य उपजको आयात र ओसारपसार गर्दा प्लान्ट क्वारेन्टाइन प्रक्रियालाई कडाइका साथ लागू गर्ने सहमति भएको हो ।

नेपालमा बिरुवा वा बिरुवाजन्य रोगको महामारी फैलिन नदिन त्यस्ता वस्तुको आयात वा निर्यात गर्दा अनिवार्य रुपमा प्लान्ट क्वारेन्टाइन प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । बैठकले स्वस्थ बिरुवा र बिरुवाजन्य उपजको आवागमनका लागि व्यापक रुपमा जनचेतना जगाउने कार्यलाई अभियानका रुपमा लानुपर्नेमा पनि जोड दिनुभएको छ ।

क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख क्वारेन्टाइन अधिकृत अवधेशकुमार सिंहले अन्तर्राष्ट्रिय बाली संरक्षण तथा राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रमअनुसार नेपालमा भित्रिने प्रत्येक कृषिजन्य वस्तुको आधिकारिक तथ्याङ्क तथा गुणस्तर जा“च हुनुपर्ने व्यवस्था भएपनि सरकारी निकायहरुबीच समन्वय र सहकार्यको अभावमा यसो हुन नसकिरहेको बताउनुभयो ।

भन्सार कार्यालयले राजस्व लिनुपूर्व क्वारेन्टाइन जा“चसम्बन्धी आवश्यक कागजात हेरेरमात्र भन्सार राजस्व लिनुपर्ने विद्यमान व्यवस्थालाई अत्यन्त कडाइका साथ लागू गर्नुपर्ने उहाँको भनाइ थियो । पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले प्लान्ट क्वारेन्टाइन प्रक्रियासम्बन्धी विद्यमान ऐन, कानुन र प्रक्रियालाई पूर्ण प्रतिबद्धताका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै यसका लागि उपलब्ध स्रोत साधनलाई अधिकतम सदुपयोग गर्नुपर्ने आवश्कता औँल्याउनुभयो ।

तेस्रो मुलुकबाट नेपालमा १५० किसिमका कृषिजन्य बाली, बिरुवा तथा बीउ भित्रिने गरेकामा वीरगन्ज नाकाबाट मात्रै झन्डै ८० प्रकारका कृषिजन्य वस्तु भित्रिने गरेका छन् । ऐन कानुनको प्रभावकारी नहुँदा नेपाल बर्डफ्लु भित्रिसकेको सन्दर्भ उल्लेख गर्दै बैठकमा सहभागीहरुले त्यसबाट पाठ सिकेर बिरुवा र बिरुवाजन्य उपजहरुमा रोगको महामारी फैलिन नदिन समयमै आवश्यक सम्पूर्ण तयारीतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :