अब सातै प्रदेशमा कृषि तथा वन विश्व विद्यालय खुल्छ : प्रचण्ड

This post has already been read 1407 times!

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सातै प्रदेशमा कृषि तथा वन विश्व विद्यालय निर्माण गर्ने जानकारी दिएका छन् । मुलुकभित्र कृषि बिषयमा गुणस्तरीय शिक्षा दिने विश्व विद्यालय नभएकाले कृषि क्षेत्र तुलनात्मक रुपमा अघि बढ्न नसकेको ठहर गर्दै प्रधानमन्त्री दाहालले उच्च शैक्षिक संस्था निर्माण गर्न लागेको जानकारी दिए ।

विश्व विद्यालय सभाको विशेष बैठकको अध्यक्षता गर्दै कुलपति एवम् प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कृषि तथा वन क्षेत्रको महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिए । उनले कृषि तथा वन क्षेत्रमा स्थापना हुने आङ्गिक क्याम्पसको स्थापना भएपश्चात् यस क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान तथा प्रसारमा नेपाली नागरिकको पहुँच पुगी शैक्षिक क्षेत्रको पहुँच विस्तार हुने बताए ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवादलाई छिट्टै अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । बैठकमा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री धनीराम पौडेलले मुलुकका सात प्रदेशमा एक-एकओटा कृषि क्याम्पस स्थापना गर्न कार्यअगाडि बढाइएको जानकारी दिए । उनले क्याम्पस स्थापनाका लागि नागरिक समाज र जनतासँग मिलेर जग्गा प्राप्तिको कार्यलाई आगडि बढाइएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढाकालले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक क्षेत्रलाई माथि उठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत सिन्धुली जिल्लाको कपिलाकोट, महोत्तरीको बर्दिवास, धनकुटाको पाख्रिवास, गोरखाको च्याङ्ली, स्याङ्जाको चापाकोट, उदयपुरको कटारी र रोल्पाको माडिचौरमा कृषि विषयको अध्ययन, अध्यापन, अनुसन्धान तथा प्रसार गर्न कृषि विषयमा आङ्गिक कलेज स्थापना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कालीकोटको पदमघाट र गोरखाको घ्यालचोक कृषि विज्ञान केन्द्रसमेत स्थापना गर्ने निर्णयसमेत गरेको छ । बैठकले विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा नियमावली, २०६९ मा पाँचौँ संशोधन र आर्थिक प्रशासन नियमावली, २०६९ मा तेस्रो संशोधनसमेत गर्ने निर्णय गरेको छ ।