पुष्प व्यवसायको ६ सुखद् पक्ष

This post has already been read 232 times!

सुकिलो पेसा
पुष्प व्यवसाय गरेर एउटा सामान्य किसानले राम्रो आय आर्जन गर्न सक्ने अवस्था छ । हाम्रो पछिल्लो पुस्ता कृषि गर्न चाहे पनि हिलो, मैलो, धुलो रुचाउने किसिमका छैनन् । खेतमै काम गरेपछि टिपटप भएर हिँड्न रुचाउँछन् । त्यसैले यान्त्रीकरणका माध्यमबाट आधुनिक शैलीबाट खेती गर्न थाल्दा आफ्नै फार्मको विकास हुन्छ । पुष्प व्यवसाय भनेको आफ्नै फार्मभित्र टिपटप भएर काम गर्न सकिने बलियो सम्भावना भएको क्षेत्र हो । तसर्थ यो व्यवसायलाई नयाँ पुस्ताले पनि आत्मसात् गरेको छ । नयाँ पुस्ताको आगमनले यो क्षेत्रमा सकारात्मक प्रभाव पनि परिरहेको छ ।


नयाँ पुस्ता र पुराना पुस्ताका व्यवसायीले निरन्तर लगाव राखिरहँदा बृहत् उत्पादनमा टेवा पुगिरहेको छ । व्यवसायीसँगै सरकारले समेत साथ दिइरहेका कारण अहिले बिस्तारै उत्पादन वृद्धि गरी राष्ट्रिय मागलाई सकेसम्म स्वदेशबाटै आपूर्ति गर्ने प्रक्रिया सुरु भइरहेको छ । हामीले १० वर्षअघिको आयात–निर्यातको अवस्थालाई अहिले उल्टाउन सफल भएका छौँ । १० वर्षअघि मागको १५–२० प्रतिशत फूल मात्रै उत्पादन गरिरहेको अवस्था थियो । तर, अहिलेको अवस्थामा ८० प्रतिशतभन्दा बढी आपूर्ति स्वदेशी उत्पादनबाट भइरहेको छ । अहिले फूलमा हामी आत्मनिर्भरतातर्फ जान खोजिरहेका छौँ । अहिले जुनस्तरमा उत्पादन भइरहेको छ, यसले आत्मनिर्भरतातर्फ जान सकिन्छ भन्ने पनि देखाउँछ । यसमा सरकारको सहयोग भने चाहिन्छ ।

मिसावट हुँदैन
यो व्यवसाय मिसावटविनाको क्षेत्र हो । कुनै पनि कुरा नमिसाई बिक्री गर्ने र आम्दानी गर्ने क्षेत्रका रूपमा पुष्प व्यवसाय परिचित छ । उदाहरणका लागि चामलमा कनिका मिसाएको भेटिन्छ । दालमा स–साना ढुंगा भेटिन सक्छन् । मसलामा धुलो मिसाएको सुनिन्छ । तर, फूलमा केही पनि वस्तु मिसाइएको हुँदैन । तसर्थ यो ‘जेन्युन’ व्यवसायका रूपमा परिचित छ । कुनै पनि उपभोक्तालाई फूल बिक्री गर्दा ठग्न सकिँदैन, उपभोक्ता पनि ठगिएका छैनन् । उत्पादन भएको फूलमा व्यवसायीले आफ्नो लागत हिसाब गरी बढीमा २५–३० प्रतिशत मुनाफा राखेर उपभोक्तालाई बिक्री गरिरहेको अवस्था छ । फ्लोरिकल्चर एसोसिएसनले नै उत्पादित फूलमा बढीमा २५–३० प्रतिशत मात्रै नाफा राखेर बिक्री गर्न पाउने व्यवस्था गरेको छ । त्यसैले उपभोक्ता मूल्यमा समेत सन्तुष्ट हुन पाउने स्थिति छ । तसर्थ यो क्षेत्रलाई हामी वैधानिक आम्दानी हुने क्षेत्रका रूपमा चिनाउँदै आएका छौँ ।

श्रम प्रधान
मानिस पछिल्लो समयमा कम श्रम गरेर बढी आम्दानी गर्न खोजिरहेका छन् । पुष्प व्यवसायमा चाहिँ बिहानदेखि बेलुकासम्म काम गरिरहनुपर्छ । फार्म वा नर्सरीको मनोरम वातावरणमा काम गर्न पनि रमाइलो हुन्छ । यसले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परिरहेको हुन्छ । अल्छीपनले गर्दा मानिसमा रोग बढ्दै गएको सन्दर्भमा पुष्प खेतीमा लाग्ने जाँगरिला र स्वस्थ्य बन्न मद्दत गरिरहेको छ । फूलको फर्ममा काम गरिरहँदा नकारात्मक सोचाइ पनि आउन पाउँदैन । फूलखेतीमा जति बढी काम गर्दै गयो, सकारात्मक ऊर्जा बढ्दै जान्छ । मानिस सिर्जनशील हुँदै जान्छन् ।

फूलको बगानभित्र बसेर काम गर्दा जुन किसिमको उत्साह प्रदान हुन्छ, अन्यले हेर्दा पनि रमाइलो मान्छन् । फूल फुलेको स्थानमा काम गरिहँदा बाहिरबाट हेर्दा सुन्दर देखिन्छ र यसले पर्यावरणलाई सौन्दर्यता प्रदान गरिरहेको छ । बाहिरबाट हेर्ने मानिसलाई समेत एकछिन भए पनि काम गरुँ–गरुँ भन्ने भावना पैदा गराउँछ । आखिर संसारमा सौन्दर्य र संगीत मन नपराउने मानिस विरलै हुन्छन् ।

कुमारकसजु श्रेष्ठ , अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल

पारिवारिक व्यवसाय
खुसी र आनन्दलाई किन्न खोज्दा पाइँदैन । संगीत सुनेर जसरी मानिसले आनन्द प्राप्त गर्छ, त्यसरी नै फूलखेती गर्दा आराम महसुस गर्छ । फूल फुलेको ठाउँमा काम गरेर रमाउँदाको जुन आनन्द प्राप्त हुन्छ, त्यस्तो आनन्ददायी अवस्था अन्य व्यवसायमा प्राप्त गर्न मुस्किल छ । अर्कातिर यो व्यवसाय ५–७ लाख रुपैयाँको लगानीबाट सुरु गर्न सकिन्छ । र, काम गर्नका लागि तेस्रो व्यक्तिको आवश्यकता पर्दैन । घरपरिवारकै सदस्यले आरामले काम गर्न सकिन्छ । हाल विकास भएका आधुनिक प्रविधिको प्रयोग गर्ने हो भने काम झन् सजिलो हुन्छ र महिनामा २–३ लाख रुपैयाँसम्म परिवारका सदस्यले काम गरेरै आम्दानी गर्न सकिन्छ । पितापुर्खाको जमिन छ भने त्यसमै गर्ने, होइन भने लिजमा जग्गा लिएर पनि फूलखेती गर्न सजिलो छ । फूलखेती गर्न जग्गा लिजमा पाउन पनि सजिलै छ ।

४ हजार वर्गफिटमा ग्रिन हाउस बनाएर काम गर्ने हो भने ४–५ सदस्यीय परिवारका लागि राम्रो ‘फेमिली बिजनेस’ बन्न सक्छ । उत्पादन, हार्भेस्टिङ, मार्केटिङलगायतका काम परिवारकै सदस्य मिलेर गर्न सकिन्छ । आफैँले बिक्री केन्द्र खोल्ने हो भने झन् राम्ररी व्यापार गर्न सकिन्छ । अन्य बालीको तुलनामा फूलखेतीको आम्दानी राम्रो छ । जुन क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको छ, त्यहाँ फूलखेती गर्ने हो भने डेढ देखि दुई गुणा बढीसम्म आम्दानी गर्न सकिन्छ । तसर्थ यो अन्यभन्दा विशेष किसिमको आम्दानी हुने क्षेत्र हो ।

सबै पक्षलाई उपयोगी
फूलको उपयोग जुनसुकै क्षेत्रमा भइरहेको छ । मठमन्दिरमा चढाउन र पूजा गर्न फूलकै उपयोग भइरहेको छ । अन्य धर्मका आस्थाका केन्द्रमा पनि फूलको प्रयोग हुन्छ । त्यस्तै कुनै मानिसको जन्म हुँदा फूल बोकेर शुभकामना दिने र देहान्त हुँदा श्रद्धान्जली दिन पनि फूलकै प्रयोग भइरहेको छ । दुःख बाँड्न र सुख साटासाट गर्न फूलकै प्रयोग भइरहेको छ । जसकारण यसको बजार दिनहुँ बढिरहेको छ ।

समृद्धिको सूचक
मानिसले गाँस, बास र कपासको व्यवस्था गरेपछि घर निर्माण गर्छ र कौसीमा फूल राख्छ । फूल राखेपछि घर भित्रँदा र बाहिर निस्कदा हसिलो अनुभव गर्छ । बाहिर छिमेकीले हेर्दा पनि राम्रो देखिन्छ । पैसा कमाएर यसरी फूललाई उपयोग गर्न थाल्छ, जसलाई समृद्धको सूचकका रूपमा हेर्न सकिन्छ । जसले बाथरुम, डाइनिङ, बेडरुम, कौसीलगायतका स्थानमा फूल राख्छ, ऊ समृद्ध छ भनेर पहिचान दिन्छ ।