बुधबारदेखि निर्वाचन आचारसंहिता लागु, के के गर्न पाइदैन् ?

This post has already been read 371 times!

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू भएको छ । स्थानीय तह निर्वाचन आचारसंहिता नेपाल सरकार, मन्त्री, कर्मचारी सुरक्षाकर्मी लगायत सार्वजनिक पद धारण गरेका व्यक्ति, गैरसरकारी संघसंस्थाका लागि आजदेखि गतेदेखि र उम्मेदवारका लागि वैशाख १६ देखि लागू हुने भएको हो ।

जारी गरिएको आचारसंहिता कार्यान्वयनका सम्वन्धमा आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा नेपाल सरकारका सचिवहरुसँग छलफल समेत गरेको छ। छलफलमा आयोगले आचारसंहिता कडाइका साथ पालना गर्नरगराउन प्रधानमन्त्रीसहित सरकारी अधिकारीलाई आग्रह गरेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । आचारसंहिता कार्यान्वयनका लागि सवै जिल्ला प्रशासन कार्यालयमा परिपत्र भइसकेको पनि उनले जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता आयोगको निर्देशनपछि मात्र खारेज हुनेछ । यसबीचमा चुनावलाई प्रभावित पार्नेगरी कुनै पनि सुरुवा–बढुवालगायतका काम सरकारले गर्न पाउँने छैन् । नियमित प्रक्रियामा रहेका पदपूर्ति भने रोकिने छैन । सरकारले आयोगको परामर्श र अनुमतिमा भने सरुवा लगायतका काम गर्न सक्नेछ ।

यी निकाय र व्यक्तिलाई लाग्ने छ निर्वाचन आचारसंहिताः

सम्बन्धित सबैले आचारसंहिता अनिवार्य रुपमा पालना गर्नुपर्ने र नगरे निर्वाचन आयोगले कारवाही गर्ने प्रवक्ता शर्माले बताए । आचारसंहिता लागू भएसँगै सरकारले कुनै पनि दललाई पक्षपोषण हुनेगरी सरकारी स्रोत, साधन र सम्पत्तिको प्रयोग गर्न पाउने छैन । यसैगरी आयोगको सहमतिबेगर निर्वाचनलाई प्रभाव पार्नेगरी कर्मचारी सरुवा, बढुवा, बजेट विनियोजन लगायत कामसमेत गर्न पाइने छैन । सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा कसैलाई पक्षपोषण गर्नेगरी प्रचारप्रसार, सहायता गर्न पाउने छैनन् ।

आचारसंहिता अनुसार कुनै राजनीतिक दललाई मतदान गर्न दबाब दिन पाइने छैन । कसैका पक्षमा मतदान गर्न डर, धाक, धम्की र प्रलोभन देखाएर दिए निर्वाचन कसुर ठहरिनेछ । त्यस्तै कुनै पनि दल वा उम्मेदवारले मतदातालाई भोज दिन, गैरसरकारी संस्थाले कुनै दल वा व्यक्तिको पक्षपोषण गर्न नहुनेलगायत विषय आचारसंहितामा उल्लेख छ ।

गाडी प्रयोगमा सीमा निर्धारण :

आचारसंहितामा उम्मेदवारका लागि सवारी साधन प्रयोग गर्न सीमा निर्धारण गरिएको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुइटा चारपांग्रे साधन र दुइटा मोटरसाइकलभन्दा बढी प्रयोग गर्न पाइने छैन । त्यसैगरी महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चार पांग्रे हलुका सवारी साधन र एउटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने उल्लेख छ ।

उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारी साधन र दुइटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने छन् । तर सवारी साधन नचल्ने ठाउँमा बढीमा दुइटा घोडा प्रयोग गर्न सकिने उल्लेख छ । एउटा उम्मेदवारको नाममा स्वीकृत सवारी साधन अर्का उम्मेदवारले प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।